२४ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोख्रेलले राज्यसत्ताको रुपान्तरणमा भयानक संघर्ष हुँदै गरेको बताएका छन् ।
मंगलबार काठमाडौंको एक अनौपचारीक कार्यक्रममा बोल्दै नेता पोख्रेलले रुपान्तरण बिना समाजबाद नआउने समेत बताएका हुन् ।
पटक पटक सरकारमा आउँदा पनि जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुन नसकेको स्मरण गराउँदै उनले पार्टी एकता बिशिष्ट आवश्यकता रहेको धारणा राख्दै रुपान्तरणको महान अभियान अबको मुख्य कोर्ष रहेको बताएका थिए ।
संसदबाट एमसीसी सम्झौता पारित भए नेपाल इरान बन्न सक्ने खतरा औल्याएका नेता पोख्रेलले एमसीसी अमेरिकी लगानीमा सञ्चालित परियोजना भएको र इण्डोप्यासफिककै अंग रहेकोमा अब कुनै द्धिबिधा नरहेको समेत बताएका थिए । उनले भनेका थिए ‘यो कुरा हामीले भनेका होइनौं, अमेरिकी अधिकारीहरुले नै भनेका छन् ।’ इण्डोप्यासफिक भनेको बिआरआइ रोक्नआएको अमेरिकी रणनीति हो ।
आरआइ आर्थिक साझेदारीको सोंच हो । तर, इण्डोप्यासफिक सैन्य गठबन्धनको रणनीति हो । एकचोटी अमेरिका नेपाल छिरेपछि सजिलै फर्किदैन । भर्खर इरानको सन्दर्भमा ट्रम्पले भनेका छन्, ‘इरानमा हाम्रो धेरै लगानी छ, त्यत्तिकै फर्केर जान मिल्दैन ।’ भोलि नेपालका सन्दर्भमा पनि त्यही भन्यो भने त्यसको जिम्मा कसले लिन्छ ? उनले प्रश्न समेत गरेका थिए ।
व्यक्तिगत रुपमा कसैप्रति राग अनुराग नरहेको बताउँदै नेता पोखरेलले सामाजिक न्याय ठिक हुन नसकेको धारणा राखेका छन् । उनले भने ‘पूर्वसभामूख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेलमा छन् । तर, एउटा जोगीले मलाई बलात्कार गर्यो भनेर महिलाले गुहार माग्छिन तर उ धरौटीमा छुट्छ । यो कस्तो न्याय हो, कस्तो प्रणाली हो ? बलत्कार गर्ने धरौटीमा छुट्ने, बलात्कारको प्रयास गर्ने चाहिँ जेल जाने ? यसका पछाडि षड्यन्त्रको गन्ध स्वत रहेको छ ।’
वि.सं.२०७६ पुस २३ बुधवार ११:३९ मा प्रकाशित






























