back
CTIZAN AD

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

126 

shares

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरु तोड्दै नयाँ कीर्तिमानहरु राख्न आतुर देखिन्छन् ।

नेपाल पर्यटन बोर्डले छ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले भने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ ।

यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दैछन् । सगरमाथा आरोहणका लागि ४६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउनुहुन्छ । सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ । यसबाहेक इलाइट एक्सिपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सिपिडिसन, हिमालयन गाइड एक्सिपिडिसन, आठ के एक्सिपिडिसनलगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन् ।

प्राकृतिक सम्पदाले धनी देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठ वटा पर्दछन् । हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौँ आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८११ पुरुष र २६१ महिला रहेका छन् । हिमाल आरोहण अनुमति लिने सङ्ख्या अझै थपिनसक्ने विभागले जनाएको छ । गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार १४० जना आरोहीले आरोहण अनुमति लिएका थिए । उक्त आरोहण अनुमति दिएवापत नेपालले रु ७९ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस्तै सन् २०२४ मा ९९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउनुहुन्छ । एनएमएले अनुमति प्रदान गर्ने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उनकोे भनाइ छ । महासचिव लामाका अनुसार सङ्घले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार २०४ परमिट जारी गरेको छ । जसबाट एनएमएले रु १६ करोड हाराहारीमा राजस्व सङ्कलन गरेको छ । यस्तै, सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ । उक्त परमिट जारी गरेबापत एनएमएले रु २० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ

यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका ४६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिए । सगरमाथा आरोहणका लागि अनुमति लिनेमा ३६४ पुरुष र १०० महिला रहेका छन् ।

विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनीयाँ आरोही रहेका छन् । चीनबाट मात्र १३९ जना आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताउनुभयो । यसबाहेक, अमेरिकाबाट १३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९, रुसबाट छ, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अष्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन् । यस्तै पोल्याण्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्याण्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको हो । विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि ४६४, ल्होत्से १११, आमदब्लम १०४, अन्नपूर्ण चार १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण १ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नप्तसे ५२, हिमलुङ हिमाल ४६, कञ्चनजङ्गा ३६, बरुण १२ जनाले अनमुति लिएका छन् ।

पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागीता देखिएको छ । यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले रु एक अर्ब १७ करोड ५५ लाख नौ हजार २५९ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट रु एक अर्ब एक करोड २८ लाख २३ हजार ९२५ राजस्व सङ्कलन गरेको छ ।

यस्तै ल्होत्सेबाट रु चार करोड ९७ लाख ७१ हजार ६५०, मकालुबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आम दब्लमबाट रु एक करोड ५५ लाख ४५ हजार ५५०, धौलागिरी–१ बाट रु एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण–१ बाट रु एक करोड २० लाख ४९ हजार १७५, कञ्चनजङ्गाबाट रु एक करोड ६० लाख ८१ हजार ६५० राजस्व सङ्कलन भएको छ ।

विभिन्न हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ । कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ । सगरमाथा आरोहणलाई सहज बनाउनका लागि अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ । समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउँछन् ।

यस्तै क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक सङ्घ नेपालले गर्दै आएको छ । सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प–३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउँछन् । “मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्नका लागि समस्या भइरहेको छ”, अध्यक्ष पराजुली भन्छन् ।

अध्यक्ष पराजुली मौसम राम्रो भएमा अबको चार÷पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने बताउनुहुन्छ । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उनको भनाइ छ । अझै क्याम्प–४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउँछन् ।

हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार सङ्घले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ । हिमालय उद्धार सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउँछन् ।

आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगीका रुपमा लाक्पा नोर्बु शेर्पा खटिएका छन् । यस्तै फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रुपमा आङ दावा शेर्पा र थानेश्वर भण्डारी खटेका सिइओ बस्याल बताउँछन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २०० जेठ १६ (सन् १९५३ मे २९ देखि सुरु भएको हो । सगरमाथाको पहिलो आरोही न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा हुन्छन् । उनीहरुले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनलाई सगरमाथा दिवसका रुपमा मनाइँदै आइएको छ ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:३३ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...