१९ माघ, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ । बैठकमा सुझाव दिने क्रममा नेताहरुले भ्रष्टाचारीलाई मृत्युदण्डको कारवाही हुनुपर्ने मागसमेत गरेका छन् ।
त्यसैगरी बैठकमा सरकारको काम कारवाही र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौताको चर्को आलोचना भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा शनिवार बोल्ने अधिकांश नेताहरुले झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकामा असन्तुष्टि जनाए।
त्यस्तै संसदबाट पारित गराउन लागिएको एमसीसीबारे पनि व्यापक छलफल भएको थियो। एमसीसीबारे बोल्ने नेताहरुले आर्थिक सहयोग नलिइ नहुने हो भने नेपालको संविधान र कानुन विपरित रहेका सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।
भ्रष्टाचारीलाई मृत्युदण्डको माग
अर्का नेता ठाकुर गैरे नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिए । भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव आएको उनको भनाइ थियो । “घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ”, उनले भने, “भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।”
कुन नेताले के भने ?
समूहगत छलफल पछि पूर्ण बैठकमा आफ्नो समूहको तर्फबाट धारणा राख्दै नेता खिमलाल भट्टराईले मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले संचालन गर्नुपर्ने बताए । उनले भने, “सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियानमा सञ्चालन गर्नुपर्दछ ।”
नेता हिमाल शर्माले भने समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट शुरुआत गर्नुपर्ने बताए । उनले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिए। “पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् । त्यो लगानी एक वर्ष्भित्र फिर्ता आउनुपर्दछ”, उनले भने, “यही आउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुपर्यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन । पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । ”
अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्दा जोगी बन्न मन लागेको बताए । “पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्?” बैठकमा उनले प्रश्न गरे ।
उनले पार्टी नेतृत्वबाटै विधानका धाराहरु मिच्ने काम भएको भन्दै आलोचना गरे ।उनले पार्टी र सरकार सञ्चालनमा तालमेल नमिलेको बताए । उनले पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टीको निर्देशन नमानेको देखिएको बताए ।
रेणु दाहालले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरिन्। उनले आफ्नो समूहमा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रणलीमा जानु पर्ने आवाज उठेको बताइन् । रेणुले एमसीसीबारे आफ्नो समूहमा तीन खालका मत देखिएको रिपोर्टिङ प्रस्तुत गरिन् । पहिलो एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने, दोस्रो समृद्धिको आधार भएकाले तत्काल स्वीकार गर्नुपर्ने र तेस्रोमा एमसीसीप्रतिको बुझाइमा एकरुपता ल्याई राष्ट्र हितविपरितका प्रावधानलाई संशोधन गरेर मात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा उठेको रेणुले बताइन् ।
समाजवाद स्थापना गर्न सुझाव
नेकपाको जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ । केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्यमा सिंगो पार्टी पंक्ति र सरकारी पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
केन्द्रीय सदस्यहरूले सानातिना विषयमा आग्रहपूर्वाग्रहमा अल्झिँदा समाजवादको महान् लक्ष्य पूरा गर्न कठिन हुने भन्दै पूर्वाग्रह बिर्सेर समाजवाद स्थापनाको लक्ष्यमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव प्रस्तुत गरेका छन् ।
राष्ट्रिय सभागृहमा जारी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक विषयमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको आज सचिवालयका सम्बन्धित सदस्यले जवाफ दिने भएका हुन् । दिउँसो १ बजे राष्ट्रियसभा गृहमा शुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
वि.सं.२०७६ माघ १९ आइतवार ०९:२२ मा प्रकाशित






























