सायद जीवन अनुभव र सिकाइको लामो यात्रा हो । जहाँ सिक्दा सिक्दै र अनुभव गर्दा गदैं धेरै कुरा सिक्न नपाई अनि अनुभव गर्न नपाई जीवन सकिन्छ जस्तो लाग्छ । कहिलेकाँही त विविध कारणले मृत्युको मुखसम्म पुगेको पनि अनुभव हुन्छ । त्यस्तै भएको थियो गतवर्ष मलाई ।
अझ बढी ललितपुरको ‘फिट एण्ड फाइन जिम हाउस’ मा साउनबाथपछि नुहाउने क्रममा म्याग्दीका हस्त र नेत्रकुमारी गर्वुजा मगर दम्पत्तीले ज्यान गुमाएपछि त मुटु पनि धक्क फूल्यो । अ,हो यस्तोमा त मरिने पो रहेछ । दिमागले एकाएक फेरि एकवर्ष अगाडिको फ्लास ब्याकमा पुर्यायो । कतिपटक लेख्दिन भनेको पनि हो, तर, लेख्न मन लाग्यो यो मेरो व्यक्तिगत अनुभव मात्र हो । यो पढेर कसैलाई राम्रो लाग्ला नलाग्ला तर पनि सेयर गर्न मन लागेरै गरेकी हुँ ।
गतवर्ष । त्यो दिन कति गते थियो भन्ने ठ्याक्कै सम्झना भएन । मेरी साथीको आफन्त मेरी पनि साथीको ठमेलमा नयाँ व्युटीपार्लर उद्घाटन हुँदै थियो । साथीले ‘जाउ न’ भनेको आग्रहलाई स्वीकार्दै हामी अफिसको काम सकेर बेलुकाको ६ बजेतिर त्यहाँ पुगेका थियौं क्यारे ।
काठमाण्डौंमा बस्दा धेरैपटक मेरा नजिकका साथीहरुले भनेको सुनेकी छु साउनामा गएर बस्दा आनन्द आउँछ । शरीरको छालाको स–सानो प्वालबाट शरीरमा रहेका विकार चिजहरु बाहिर निस्कन्छन् । धेरैपटक साथीहरुको मुखबाट ‘म त साउना जानु छ ।’ भनेको सुनेकी थिए । नयाँ अनुभव लिने रहर थियो । केही कुरामा पनि आफूलाई जानेकी छैन र गरेकी छैन भन्ने बानी नभएका कारण पनि त्यो दिन साउना जाने मन बनाएकी थिए ।
अफिसमा काम गर्दा गर्दै स्कुटीमा चढेर साथी र म साउना गएका थियौं । उद्घाटनको दिन भएकोले लड्डु खाएर साउना भित्र छिर्यौ ।
पहिले नै साउनामा पस्ने ढोकाको छेउमा स-साना ढुंगाहरुलाई तातो बनाएर राखिएको थियो । कोठामा धिमे बत्ति अनि न्यानो थियो । हामी दुईजना सेतो टवेल बेरेर साउनामा बस्यौं । कति आनन्द हुँदो रहेछ हैं अब निरन्तर आउनु पर्ला भनेर कुरा पनि गयौं ।
बाहिर पुस-माघको चिसो खाएर साउनाभित्र पस्दा साच्चै आनन्द र रमाइलो भएको थियो । शरीर तात्दै गएपछि विस्तारै हातखुट्टा माड्दा मयल पनि निस्किएको थियो । हामीसँग एक बोतल मिनरल वाटर थियो । साथीले बीच–बिचमा पानी पिइरहनु भएको थियो । मैले पनि पिएको त थिए तर धेरैपटक पिइनँ । अनि साथीले एकपटक भन्नु भएको पनि थियो ‘बिच–बिचमा बाहिर पनि जानु पर्छ’ तर हामी गएनौं ।
साथी एकपटक बाहिर पनि जानु भएको थियो क्यारे ! तर, म भने यति न्यानो भएको बेला, पनि किन बाहिर जाने ? ज्यान तातेर पसिना पनि आएको छ बेकारमा बाहिर गएपछि फेरि चिसो ुहन्छ । अनि चिसो तातो नमिलेपछि शरीरलाई असर गर्छ भन्ने लाग्यो । तर, बाहिर जानु भनेको हावा खान ( अक्सिजन) लिनका लागि भन्ने सोच ममा आएन । २० मिनेट साउनाभित्र बस्दा तीन घुट्की मात्र पानी पिएकी थिए त्यतिबेला ।
२० मिनेटजति साउनामा बसेपछि साथीले ‘जाउ अब, ढिला भइसक्यो घर जान’ भन्नु भयो । मलाई मनमनै अझै केहीबेर बस्न पाए हुने भन्ने लागेको थियो । तर, साथीलाई मुख फोरेर भन्न सकिनँ । अनि साउनामा धेरैबेर बसेको धेरै पैसा लाग्छ होला भन्ने पनि लाग्यो । अनि हामी बाहिर निस्कियौं ।
बाहिर निस्किएर कपडा फेर्ने रुममा गयौं । सायद साउनाबाट निस्किएर नुहाउन जानुपथ्र्यो क्यारे ! हामी हतार भएका कारण त्यहि टवेलले शरीर पुछेर कपडा फेर्न लाग्यौं । फेरि साउनाका कोही पनि स्टाफले नुहाउन जानुपर्छ भनेको पनि सुनेनौं । व्यवसायीक उहाँहरुले काठमाण्डौंमा, त्यो पनि हामीजस्तो मान्छेले त्यतिकुरा बुझ्नु हुन्छ भन्ने लागेरै होला । फेरि हामी ती साथिभन्दा अलि सिनियर भएका कारण उहाँले भन्न अप्ठेरो मान्नु भयो कि भन्ने पनि लाग्छ ।
मैले आधा कपडा लगाउँदा लगाउँदै झम्म पार्यो । लाग्यो, भोक लागेछ क्यारे । कहिलेकाँही ढिलो सम्म खाना खान नपाउँदा त्यस्तै हुन्छ मलाई । नर्मल लाग्यो । तर पनि केही कपडा छिटो–छिटो लगाए । केही लगाउनै बाँकी थियो । शरीरमा टवेल बेरिरहेकी थिए । साथी र म ठिक पूर्व र पश्चिम फर्किएका थियौं । म उहाँको अगाडि पूर्वतिर फर्किएकी थिए भने उहाँ मेरो पछाडि पश्चिमतिर फर्केर कपडा फेरिरहनु भएको थियो । कपडा फेर्दाफेर्दै केही थाहै भएन म उहाँको खुट्टामा टाउको अडिने गरी ढलेछु ।
ठ्याक्कै यति समय भन्ने थाहा भएन । म जाग्दा साथीले मेरो तालुमा चिसो पानी खन्याउने र मुखबाट पानी खुवाउने गर्दै ‘चन्दा जी… चन्दा जी’ भनेर बोलाउनु भएको थियो । मलाई त्यतिबेला केही होस् थिएन । शरीरमा एकप्रकारको आनन्द आएको थियो । अनेक बोझहरु उतारेर फूलसरी हलुँगो महसुस भएको थियो शरीरमा, भने मन शून्य अनि एकछिन त संसार शून्य लागेको थियो । अनि कता कता आमाले नानी.. नानी भनेर मायालु स्वरले विस्तारै बोलाउनु भएको जस्तो पनि लागेको थियो । आँखाभरी आँसु आयो । पछि त सम्झिए साउनाबाट निस्कीएर कपडा फेर्दा फेर्द ढलेको भनेर ।
जागेपछि साथीहरुले के भयो ? कसरी यस्तो भयो ? प्रेसर लो थियो कि ? शरीरमा केही समस्या थियो कि ? पानी पिउनु भएन ? बिच बिचमा बाहिर निस्कनु भएन ? यावत् प्रश्नहरुले घेरिए म एकछिन । अनि त लाग्यो त्यहाँभित्र रहेका बेला यी सब गर्नुपर्ने रहेछ । त्यतिबेला मलाई लागेको थियो, यस्तो व्यवसाय गर्नेहरुले साउनाभित्र पसेका या साउनापछि नुहाउन गएका आफ्ना ग्राहक या आफन्त कसैलाई पनि ‘कुनै कुनै बेला हामीले बोलाउँछौं, झर्को नमानिदिनुहोला’ वा, क्षण-क्षणमा नजिक गएर पानी पिउनु भयो ? बाहिर निस्कनु भयो ? लगायतका कुराहरु सोध्नुपर्छ जस्तो पनि लाग्यो । अनि अर्कोकुरा नर्मल प्रेसर नाप्न जान्ने मानिस मात्र भएपनि त्यस्ता ठाउँमा राख्नुपर्छ जस्तो पनि लाग्यो ।
बिहान ठिक भएको प्रेसर बेलुका घट्छ या बढ्छ त्यो थाहा हुँदैन । त्यसकारण पनि प्रेसर नापेर साउनाभित्र पठाउँदा राम्रो हुन्छ जस्तो लाग्यो । अनि जो साउनामा बस्न आएको व्यक्ति हो, उ पहिलोपटक साउनामा बस्न आएको हो कि, या पहिले पनि बसेको हो भन्ने कुरा पनि सोधेर यदि पहिलोपटक आएको हो भने कति समय बस्न मिल्ने र उसले के–के गर्नुपर्छ भनेर बुझाउनु पर्छजस्तो लाग्छ ।
जव बेहोसीबाट म उठे साथीहरुले अस्पताल जाउ भन्नु भयो । मैले पर्दैन मलाई ठिक छ भनेर झण्डै आधा घण्टा आराम गरेर म त्यहाँबाट स्कुटी चलाएर नै घर आए । त्यतिबेला मैले त्यो कुरालाई त्यति गहिराइमा नलिएको र नबुझेको भएर नै ममा भित्रदेखि आएको आत्मबलका कारण स्कुटी चलाएर घर आए ।
घर नपुग्दै पहिले प्रेसर ‘लो’ भएको हो कि भनेर मेडिकलमा पुगेर प्रेसर चेक गराए । प्रेसर पनि एकदमै ठिक थियो । त्यहि मेडिकलको बहिनीलाई यस्तो भयो भनेर घटनाका बारेमा सुनाए । उनले पनि ‘प्रेसर त ठिक छ तर साउनामा अक्सिजन कम भएकोले होला भनिन् । अनि अर्को कुरा पनि सुनाइन् ‘अक्सिजन कम भयो भने यस्तै हुन्छ । चन्द्रागिरी माथि हाइटमा पनि अक्सिजन पुग्दैन भन्छन् नि ! मेरो एकजना साथी माथि पुगेपछि स्याँ स्याँ भएर मरेकी हुन् अक्सिजन कम भयो भने त्यस्तै हुन्छ ।’ त्यतिबेला बल्ल मलाई थाहा भयो यो सबै अक्सिजनको कमीले त्यस्तो भएको रहेछ भनेर । किन कि त्यहाँभित्र प्रयाप्त हावा त के सायद हावानै छिर्न नपाउने ठाउँ थियो क्यारे !
घरमा पनि आमाहरु डराउनुहुन्छ भनेर घटनाका बारेमा भन्न मन लागेन । जतिखेर पनि आमालाई हेर्छु, आँखाभरी आँसु आउथ्यो । आफूभन्दा जान्ने छोरा छ भन्ने विश्वास र उसले यसको बारेमा केही भन्छ अवस्य भन्ने लागेर छोरालाई घटनाका बारेमा सुनाए । उसले पनि त्यहि भन्यो ‘ममि, पहिलोपटक तपाई किन यतिधेरै टाइम बस्नुभएको ? त्यसरी बस्नु हुँदैनथ्यो !’ त्यहि पनि एकपटक हेल्थ चेकअप गराउनु भित्र केही समस्याले हो कि !’
त्यतिबेलादेखि साह्रै डर लाग्यो । ला, शरीरभित्र केही समस्या भएर थाहा नभएको अनि साउनामा बसेपछि एक्कासी यस्तो समस्या आएको हो कि, भनेर मनले सोच्यो । अर्कोदिन हिमाल अस्पतालमा पुगेर कोलेष्ट्रोल, सुगर लगायतका जाँच गराए । उक्त रिर्पोटमा पनि केही देखिएन । अनि मनमनै सोचे अब साउना कहिले जाने छैन । साउनामा जाउ कि भनेर सोच्दा पनि अहिले त्यहि कुरा घुमिरहन्छ अनि पेटै बटारेर कता कता के–के भएजस्तो लाग्छ । साउनामा झण्डै मरेर बाँचेको त्यो दिन । लाग्छ मृत्युलाई नजदिकबाट महसुस गरेकी थिए त्यतिबेला ।
वि.सं.२०७६ माघ २२ बुधवार १७:४६ मा प्रकाशित






























