२४ माघ, काठमाण्डौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गलत ढंगले प्रभावित गरिएको ठहर गरेको छ ।
ललिता निवास प्रकरण मुद्दामा राजनीतिक पूर्वाग्रह राखेर उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै आपत्ति जनाएको नेपाली कांग्रेसले विहिबार पत्रकार सम्मलेन गरेर उक्त कुरा बताएको हो ।
कांग्रेसले मन्त्रिपरिषद्ले गरेको निर्णयमा तत्कालिन प्रधानमन्त्रीद्धय माधब नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रिमाथि त्यहि निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैमा बदनियतपूर्ण रहेको ठहर गरेको छ । ‘नेकपाका वर्तमान महासचिव विष्णु पौडेलले आफ्ना छोरा नविन पौडेलेको नाममा जग्गा लिएको तथ्य सिंगो देशलाई जानकारी छ । सोहि प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रष्ट हुन्छ ।’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बालुवाटार जग्गा प्रकरणमा गहिरो छानविनका लागि नेपाली कांग्रेससँगै सिंगो राष्ट्रले माग गर्दै आएको बताउँदै उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो लगायतका अन्य सबै अनियमितता अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणमा गम्भीर र गहिरो अनुसन्धानका पक्षमा थियो र रहनेछ ।’


वि.सं.२०७६ माघ २४ शुक्रवार ०९:५८ मा प्रकाशित






























