२४ माघ, काठमाडौं । तपस्वी राम बहादुर बमजनलाई पक्रन नेपाल प्रहरीको टोली शुक्रवार बिहान उनको सिन्धुली स्थित आश्रम पुगेको छ । प्रहरी आउने सुइको पाएका बमजन भने प्रहरी नपुग्दै आश्रम छोडिसकेका थिए । हत्या, हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरीको जंगलमा खोजेपनि भेटाएको भने छैन। आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लागेको प्रहरी स्रोतले बतायो।
सिन्धुली जिल्ला अदालतबाट बिहीवारै बमजन पक्राउको अनुमति लिइएको थियो। उनिमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी,एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।
आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन्। त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् ।
वि.सं.२०७६ माघ २४ शुक्रवार ११:२३ मा प्रकाशित






























