२४ माघ, काठमाण्डौं । के.यु.के.एल.एकिकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले आफूमाथि निराधार लञ्छना लगाइएको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धामीले आफूमाथि लगाइएका निराधार लाञ्छना र त्यसको परिणाम स्वरुप कार्यालय परिसरबाट भएको धरपकड तथा सोधपुछले आफ्नो परिवार र साथीभाईमा त्रासपूर्ण वातावरण सिर्जना भएको पनि बताए ।
अध्यक्ष धामीले उक्त संत्रासपूर्ण वातावरणको अन्त्य गर्दै स्वतन्त्र रुपमा जिउन पाउने मानवको नैसर्गिक अधिकारको रक्षार्थ आम नागरिक, संचारकर्मी र मानब अधिकारकर्मी समक्ष आव्हान गर्ने उद्धेश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
“म गोपाल सिंह धामी काठमाण्डौ लिमिटेड (के.यु.के.एल.)मा कार्यरत कर्मचारी हुँ र हाल के.यु.के.एल., एकिकृत स्वतन्त्र कर्मचारी युनियन नामक ट्रेड युनियन नेपाल सरकार, श्रम कार्यालयमा विधिवत रुपमा दर्ता गरी त्यसको नेतृत्व समेत मैले गरिरहेको छु , अध्यक्ष धामीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘विगतमा तत्कालिन विधार्थी संगठनको विभिन्न तहमा क्रियाशिल रहेको र म तत्कालिन नेपाल खानेपानी संस्थानमा सेवा प्रवेश पश्चात ट्रेड युनियनमा आबद्घ रहि क्रियाशिल रहेको व्यहोरा समेत अनुरोध गर्दछु ।’
“वि.सं. २०७४ साल पौष महिना देखि म कुनै पनि राजनैतिक पार्टी तथा राजनैतिक पार्टीको कमिटि वा संघ संगठनमा संगठित र आवद्घ नरहेको र स्वतन्त्रतापूर्वक आफ्नो पेशा अपनाउदै आएकोमा वि.सं.२०७५ आषाढदेखि केयुकेएलमा कार्यरत कर्मचारी साथीहरुको सहमतिमा विशुद्घ पेशागत, राजनितिक, आबद्धता बिहिन स्वतन्त्र पेशागत ट्रेड युनियन के.यू.के.एल. एकिकृत स्वतन्त्र कर्मचारी यूनियन गठन एवं बिधिवत दर्ता गरि अध्यक्षको हैसियतमा क्रियाशिल रहेकोमा हाम्रो युनियनको राजनितिक आबद्धता विहिनताको स्थितिको अबाञ्छित फाईदा उठाउँदै छिद्रान्वेसि चरित्रका केही ब्यक्तिहरुले मैले नेतृत्व गरेको ट्रेडयुनियनलाई प्रतिबन्धित नेकपासँग आबद्ध रहेको गलत सूचना संप्रेषण गरि राज्यसंयन्त्रलाई समेत दिग्भ्रमित पार्न सफल भएका छन ।” विज्ञप्तिमा अगाडी भनिएको छ ।

यस्तै धामी अध्यक्ष रहेको के.यु.के.एल. एकिकृत स्वतन्त्र कर्मचारी युनियनले पनि छुट्टै बिज्ञप्ती प्रकाशित गर्दै पछिल्लो समय युनियनको पहलमा भएका कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चितता नीतिगत निर्णय हुनु र केहि व्यक्तिहरुको मात्र सहमतिमा मात्र हुने गरेको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा के.यु.के.एल. एकिकृत स्वतन्त्र कर्मचारी युनियनतर्फ सकारात्मक बनेको वातावरणबाट आफ्नो अस्त्विमा नै प्रश्न चिन्ह खडा हुन जाने यथार्थबाट भयभित भई के.यु.के.एल. एकिकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीलाई आफू कार्यरत कार्यालय परिसरबाट नै नियन्त्रणमा लिईएकोमा आपत्ति जनाएको छ ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १८:४४ मा प्रकाशित






























