१ फागुन, काठमाडौं । जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयको आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । यसअघि पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा अध्यक्षद्धय सहभागि हुने भनि प्रचार गरिएको थियो ।
ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् । आजको कार्यक्रममा भने स्वास्थ्यले साथ नदिएकोले उपस्थित नभएको बालुवाटार स्रोतले जानकारी दियो । कार्यक्रममा ओली उपस्थित नभए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, वामदेव गौतमलगायतका नेताहरु सहभागी छन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले तत्कालीन सोभियत युनियनका कम्युनिस्टको इतिहासलाई बुझेर उनीहरुका कमी–कमजोरीलाई सच्याउँदै नेपाली कम्युनिस्टहरु मौलिक ढङ्गले अघि बढ्नुपर्ने खाँचो औँल्याए । कम्युनिस्टहरु विरोधी पक्षबाट नभई आफ्नै कारणले कमजोर हुने गरेको उनको भनाइ थियो ।
नेकपाका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।
वि.सं.२०७६ फागुन १ बिहीवार ११:२७ मा प्रकाशित






























