फाइल तस्विर
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतयक सोमबार बस्दै आएको मन्त्रिपरिषदको बैठक आजै बोलाएका छन् । ओलीले मृगौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर आजै साँझ ५ बजे बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
मृगौला प्रत्यारोपणका क्रममा लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु हुनसक्ने आँकलन गरिएको छ । यता लामो समयदेखि नेकपामा विवाद हुँदै आएको राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस पनि आजकै मन्त्रिपरिषद् बैठकबाट हुने स्रोतको दाबी छ । त्यसैगरी आजको बैठकले सरकारको कार्यवाहक जिम्मेवारी कस्लाई दिने भन्नेवारे पनि निर्णय लिनेछ ।
प्रधानमन्त्रीले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गर्ने नेकपा सचिवालय बैठकलाई जानकारी गराएका थिए । मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार अस्पताल भर्ना हुने तयारीमा छन् ।
वि.सं.२०७६ फागुन १८ आइतवार १६:०६ मा प्रकाशित






























