२० फागुन, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, को करेलीकाँडमा एकै पटक ५० जना भन्दा बढी स्थानीय बिरामी भएका छन् ।
केही दिन यता रुघाखोकी, ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा दुख्ने लक्षणका बिरामी गाउँमा रहेका छन् । बालबालिका, महिला जेष्ठ नागरिक तथा अरु उमेर समूहका सर्वसाधारण पनि यो लक्षणका कारण समस्यामा परेका छन् । केही दिन यता बिरामीको संख्या बढ्दै गएपछि स्थानीय आत्तिएका छन् ।
बिरामी हुने क्रम र विरामी हुने सर्वसाधारणको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मी पुगेका छन् । बिरामीको भर्खर उपचार सुरु भएको लेखनाथ आधारभुत विद्यालयका शिक्षक लक्ष्यबहादुर सुनारले जानकारी दिए । बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी, स्थानीय विद्यालयमा कार्यरत शिक्षक लागिरहेको सुनारले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीय बिरामी भएको बारे सोमबार विहान ११ बजे मात्रै जानकारी आएको बताए । जानकारी आउने वित्तिकै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा पठाइएको उनले बताए ।
उनका अनुसार बिरामी भएको भन्ने खबर आए लगत्तै औषधि सहितको स्वास्थ्यकर्मीको टोली र आवश्यक सुरक्षा तथा समन्वय सहयोगका लागि सुरक्षाकर्मी पठाइएको छ । के रोग हो र यो कसरी लाग्यो भन्ने खुलि नसकेको प्रजिअ सुनारले बताए । मंगलबारको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७६ फागुन २० मंगलवार ०८:२३ मा प्रकाशित