back
CTIZAN AD

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

वि.सं.२०८३ साउन १९ मंगलवार

27 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे ।

उनले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारवाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केही दिनदेखि भइरहेको ग्यासको अभावप्रति प्रदेश सरकारले गम्भीर चासो देखाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले उपभोक्तालाई राहत दिन निर्देशन दिए ।

सो अवसरमा व्यवसायीले आगामी केही दिनभित्रै वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाएर बजारमा आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले पछिल्लो १७ दिनमा मात्रै सुर्खेत र आसपासका बजारमा ३३ हजार ४४० सिलिण्डर ग्यास बिक्रीवितरण भइसकेको जानकारी दिए ।

आयल निगम तथा सम्बद्ध व्यवसायीका अनुसार भारतबाट हुने आयात र बजारमा पठाइने ग्यासको परिमाणमा कुनै कटौती नभई आपूर्ति अवस्था सामान्य रहेको छ ।

आपूर्ति नियमित हुँदाहुँदै पनि उपभोक्ता ग्यासका निम्ति राति २ः०० बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना हुनुमा प्राविधिक तथा मनोवैज्ञानिक कारण भएको बताइएको छ ।

सरकारले केही समयअघि लागू गरेको आधा सिलिण्डर (७.१ केजी) को व्यवस्थालाई खारेज गरी पुनःपूरा सिलिण्डर (१४.२ केजी) वितरण गर्ने निर्णयले बजारको वितरण प्रणालीमा आकस्मिक रुपमा चाप बढेको हो ।

बिक्रेताका अनुसार ग्यासको अभाव हुनसक्ने हल्ला र त्रासका कारण सर्वसाधारणले खाली रहेका सबै सिलिण्डर एकैपटक साट्ने तथा आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्तिले कृत्रिम अभावजस्तो देखिएको हो । बैठकमा प्रदेशका उच्च सुरक्षा अधिकारीहरु, नेपाल आयल निगमका प्रमुख र ग्यास बिक्रेताको सहभागिता थियो ।

वि.सं.२०८३ साउन १९ मंगलवार ०६:३२ मा प्रकाशित

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...