२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको विवाद थप बल्झिँदै गएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ ।
सभापति शेरबहादुर देउवाले शनिबार र सोमबार विभागहरुमा मनोनयन सुरु गरेपछि संस्थापनइतर पक्ष एकीकृत भएको हो। सभापतिले गरेको विभाग गठनलाई अस्वीकार गरेको समूहका नेताहरुको बैठक प्रकाशमान सिंह निवासमा बसेको थियो।
बैठकमा पौडेल पक्षका शीर्ष तहका नेताहरु भेला भएका थिए। बैठकमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरु, काठमाडौं, बर्दिया, काभ्रे, नुवाकोटलगायत जिल्लाका सभापतिहरु सहभागी भएका छन् । बैठकमा केहि जिल्लाका उपसभापतिहरुसमेत सहभागी भएका छन् ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री सिंह सहभागी छन् । नेताहरु अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, बलबहादुर केसी, जीवन परियार, धनराज गुरुङ, कमला पन्त, कल्याण गुरुङलगायतका नेता पनि उपस्थित भएका छन् । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी पनि पौडेल पक्षको बैठकमा उपस्थित भएकी छन् ।
बैठकको सुरुमा उपस्थित भएका जिल्ला उपसभापतिहरुले आफ्नो धारणा राखेका थिए। कार्यतालिकासहित महाधिवेशनको मिति तय भइसकेपछि विभाग गठनको औचित्य नहुने भन्दै पौडल पक्षले सभापतिको निर्णय अमान्य हुने जनाएको छ । विधानतः महाधिवेशन भएको दुई महिनाभित्रमा गठन भइसक्नुपर्ने विभाग देउवाको नियमित कार्यकाल सकिएको चार वर्षपछि गठन गरिएको छ ।
विधानमा २८ विभागको व्यवस्था गरिएपनि देउवाले ४७ विभाग बनाउने निर्णय केन्द्रीय समितिमा बहुमतबाट पारित गराएका छन् । पौडेल पक्षले विभाग संख्या र गठन प्रक्रिया प्रति आपत्ति जनाएको छ।
वि.सं.२०७६ फागुन २१ बुधवार १२:३५ मा प्रकाशित






























