
२२ फागुन, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा शुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा शुरु भएको हो ।
बैठकले कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले कोरोनाविरुद्ध लड्न भारत र चीनसँग सीमा जोडिएका स्थानको सुरक्षा व्यवस्था र हेल्थ डेस्कका सन्दर्भमा जानकारी दिने भएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विभिन्न अस्पतालमा यसअघि क्वारेन्टाइन र आइसोलेसन वार्ड राख्ने व्यवस्था सम्बन्धमा भएको प्रगतिका बारेमा जानकारी गराउने बताइएको छ ।
भाइरसको आतंकका कारण बजारमा मास्क र सेनिटाइजरको अभाव हुन थालेपछि यस विषयमा समेत उच्चस्तरीय समन्वय समितिले निर्णय लिने आंकलन गरिएको छ । यसअघिको बैठकले औषधीजन्य बस्तुको कालोबजारी निगरानी अनुगमन गर्ने र कोरोना सुरक्षाका नयाँ विधिबारे अनुषन्धान गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १३:५३ मा प्रकाशित