२३ फागुन, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदले भ्रष्टाचारविरुद्ध सवाल उठाएका छन् । शुन्य समयमा बोल्ने अधिकांश सांसदले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासँगै बाँकी जीवन भ्रष्टाचारविरुद्ध कठोर भएर जनताको मन जित्न सुझव दिए ।
शुन्य समयमा बोल्दै सांसदहरु तेजुलाल चौधरी सांसद तेजुलाल चौधरीले काम नलाग्ने भएपछि शरीरको अंग फेर्नुपर्ने हुन्छ भने देश र जनताका लागि काम नलाग्ने आफ्नो वरिपरीका मान्छेलाई किन नफेर्नेरु आशयको भनाइ राखे। उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन ?’
उनले सेक्युरिटी प्रेस अडियो कान्डमा मुछिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्रीतिर संकेत गर्दै उक्त भनाइ राखेका हुन्। देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।
यसैगरी डिला संग्रौला पन्तले पनि देशमा कोरोना जस्तै भ्रष्टाचारले सताएको बताइन्। उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’
उनले प्रधानमन्त्रीले रोगसँग आफ्नै दृढ विश्वासले जितेको बताइन्। तर, भ्रष्टाचारसँग जित्ने नसकेको उनका भनाइ थियो। उनले भनिन्, ‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन। सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन। कारबाही हुनैपर्छ।’
वि.सं.२०७६ फागुन २३ शुक्रवार १२:१८ मा प्रकाशित






























