
२८ फागुन, काठमाडौँ । तार्केश्वर नगरपालिका ४ काठमाडौँको पुरानो गुह्येश्वरीमा श्रीमान श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमानमाथि तेजाब प्रहार गरेकी छिन् ।
तार्केश्वर पुरानो गुह्यश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको हो । घरमा झ्यालढोका लगाएको तथा कोठाभित्रै सुतिरहेको अवस्थामा श्रीमतीबाट तेजाव आक्रमण भएको प्रहरीको भनाइ छ ।
प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ । उनीसँगै उनका तीन महिनाका बच्चालाई समेत प्रहरीको रेखदेखमा बालाजु वृत्तमा राखिएको छ । ‘हामीले बच्चालाई रेखदेखमा रहने गरी राखेका छौं, महिला प्रहरीमार्फत बच्चाको हेरचाह गर्ने र आमासँगै राखेर दूध खुवाउने व्यवस्था गरिएको छ,’ डीएसपी राठौरले भने ।तेजाब आक्रमणपछि घाइते भएका थापाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार तथा हातमा तेजाबको असर छ । उनी खतरामुक्त छन् ।बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन २८ बुधवार ०७:४५ मा प्रकाशित