३ चैत, काठमाण्डौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा विषाक्त मदिरा सेवन गरेर मृत्युभएकाहरुको परिवारलाई प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर रावतले जनही तीनलाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
रमदैयाँ गाउँका मृतकका परिवारलाई सोमबार बिहान भेटेर मुख्मन्त्री रावतले जनही तीनलाख सहयोग गर्ने घोषणा गरेको दुई नम्बर प्रदेशका सूचना अधिकारी रुपेश कुमार झाले संसारन्युजलाई जानकारी दिएका छन् ।
१६ जनाको मृत्यु
फागुन २७ गते (होली पर्व) यता रमदैया गाउँका १६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक अशोक कुमार झाले बताएका छन् ।
झाका अनुसार ९ जनाको विषाक्त रक्सी सेवन गरेका कारण मृत्यु भएको रिर्पोटमा देखिएको बताएका छन् । उनका अनुसार उनीहरुले सेवन गरेको मदिरामा मिथानोल बढी भएका कारण मृत्यु भएको डाक्टरहरुले बताएका छन् । उनका अनुसार अन्य झाडा पखाला, ज्वरो लगायतका विमारीका कारण मृत्यु भएको भएपनि उनीहरु पनि मदिरा सेवन गर्ने गरेको बताएका छन् ।
त्यसैगरी विषाक्त मदिरा सेवन गरेका कारण विरामी भएका ५ जनाको जनकपुर प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रवक्ता झाले संसारन्युजलाई जानकारी दिए ।
वि.सं.२०७६ चैत ३ सोमवार १५:०६ मा प्रकाशित






























