२५ चैत, काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको तदारुकताका साथ कोरोना रोकथामका लागि लागि परेको र महामारीको अवस्था आइपरेको खण्डमा आफूहरु पूर्णरुपमा त्यसको सामना गर्न तयारी अवस्थामा रहेको पनि सम्बोधनका क्रममा बताएका छन् ।
प्रधानमन्त्रीले आजदेखि थप ८ दिनका लागि देश लकडाउन भएको घोषणा गर्दै आगामी २ साता नेपालका लागि थप जोखिम हुने भएकाले महामारी रोक्न सारा तयारी हुने गरिएको समेत बताएका छन् ।
केही दिनमै कोरोना भाइरस कहाँ कहाँ पुगेको छ भन्ने पत्ता लगाउन ट्रेसिङको तयारी समेत सरकारले गरिरहेको बताएका छन् ।
हालसम्म ३० हजार ५६६ जना राख्न मिल्ने क्वारेन्टाइन स्थापना भइसकेको, ३ हजार २५९ वटा आइसोलेसन बेड तयार रहेको र ९ हजार ६८ जना क्वारेन्टाइनमा रहेको पनि बताए ।
उनले यो सबैको सार्वजनिक लडाइ रहेकोले सबै मिलेर मात्र यसलाई परास्त गर्न सकिने बताएका छन् ।
प्रधानमन्त्रीले कोरोना महामारीका कारण हालसम्म विश्वभरी ७४ हजार भन्दा बढीको मृत्यु भइसकेको, ४७ हजार भन्दा बढी अत्यन्तै नाजुक अवस्थामा रहेको र १३ लाख भन्दा बढीमा संक्रमित भइसकेको बताउँदै महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ दिदी बहिनीहरु लगायत सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै संक्रमितहरु निको भएर घर फर्किन सकुन् भन्ने कामना समेत गरेका थिए ।
‘हाम्रो पुस्ताले भोगेको गम्भीर चुनौती मध्ये यस महामारीविरुद्ध कठिन लडाइमा रहेका सबै राष्ट्र र समुदायहरुमा नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु ।’ प्रधानमन्त्रीले भनेका छन् ।
प्रधानमन्त्रीले नेपाल कोरोनाविरुद्धको लडाईमा होमिएको बताउँदैं देशमा संक्रमणको पहिलो केस पहिचान भएदेखि यता सबैको साझा प्रयत्नले संक्रमितहरुको संख्या नौ जनामा मात्र सिमित रहेपनि अझै पनि उच्च जोखिममा रहेको बताए ।
उनले दुईसातादेखि मुलुक लकडाउनमा रहेको र यसबाट पर्न गएको असुविधामा संवेदनसील रहेको बताउँदै दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक बढी मर्कामा रहेको, व्यवसाय बन्द गर्नुपरेको, विद्यार्थीहरुको पढाइ रोकिएको बताउँदै जीवनमा लामो एकान्तवास विताएको स्मरण गर्दै लामो समय लकडाउनको एकान्तासको कठिनाइलाई सहज अनुभुत गरेको समेत बताए ।
प्रधानमन्त्रीले यस महामारीका रोकथामका लागि अहिलेसम्म कुनै खोप र औषधि तयार नभइसकेको अवस्थामा लकडाउननै अपरिहार्य कदम रहेको सबैलाई थाहा भएको बताउँदै लकडाउनकै कारण महामारीलाई फैलन नदिने प्रयासमा ठूलो सहयोग पुगेको समेत बताएका छन् । ‘तर, समस्या अझै यथावत छ । थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छ । त्यसैले आजबाट थप लकडाउनको अवधि बढाउन हामी बाध्य भएका छौं । सबै कठिनाईहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनुहुने तपाईहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अबधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीले भने ।
वि.सं.२०७६ चैत २५ मंगलवार ११:३३ मा प्रकाशित





























