२८ चैत, काठमाण्डौं । ओम्नी ग्रुपका लागि स्वास्थ्य सामग्री ल्याउने सरकारले चार्टर गरेको नेपाल एयरलाइन्सको जहाजले चैत २० गते २० हजार थर्मल गन पनि ल्याएको प्रहरीले ढिलो सूचना पायो । थाहा पाउँदा ती सामान गायब पारिसकिएका थिए । भन्सारमा हेर्दा शुलभ अग्रवालले ल्याएको खुल्यो । तर, भन्सार तिरिएको थियो १२ सय वटाको मात्र ।
यसलाई प्रहरीले ठूलै रहस्य ठान्यो । र, तीब्र अनुसन्धान सुरु गर्यो । नाटकीय क्रेता बनेर सुलभसँग ‘डिल’ गर्यो । बार्गेनिङपछि प्रतिगोटा १५ हजार रुपैयाँमा कुरा मिल्यो । शुलभ आफैं कुटनीतिक प्रयोजनको गाडीमा राखेर सामान पुर्याउन आए । त्यहि क्रममा पक्राउ परे ।
उनले भन्सारमा प्रतिगोटा मूल्य २० अमेरिकी डलर (करिब २३ सय रुपैयाँ) देखाएका छन् । चीनबाट ल्याउँदा पर्ने सरदर मूल्य त्यहि हो ।
त्यस आधारमा उनले २० हजार वटाको बढीमा ५ करोड रुपैयाँ तिरे । प्रहरी अनुसन्धानले भन्छ–प्रतिगोटा १५ देखि २२ हजारमा बेचे । १५ हजारलाई आधारमूल्य मान्ने हो भने पनि बेचेर ३० करोड आउँछ । त्यसबाट २५ करोडभन्दा बढी नाफा हुन्छ । प्रहरी स्रोतका अनुसार उनले करिब करिब त्यो बेचिसकेका थिए । शुक्रबारको अन्न्पूर्णपोष्ट दैनिकले लेखेको छ ।
शंकर ग्रुपका शुलभ अग्रवाल कालोबजारी गर्दा गर्दै रंगेहात पक्राउ परेपछि उद्यम क्षेत्रमै हलचल मच्चिएको छ । कोरोना भाइरस (कोभिड १९) मा व्यवसायीले सेवाग्राहीलाई सहयोग गर्नुपर्नेमा उल्टै कालोबजारीमा उत्रिएपछि प्रहरीको ध्यान समेत उच्च व्यापारिक घरानातिर केन्द्रीत भएको छ ।
वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:३४ मा प्रकाशित






























