६ बैशाख, साउदी। साउदीमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढ्दै गएको छ ।
कोरोना संक्रमण तिब्ररुपमा बढिरहेको र सबैको साथ नभएमा संक्रमण नियन्त्रण हुन कठिन हुने चेतावनी दिदै सबैलाई जिम्मेवार हुन साउदीका सरकारी अधिकारीले अनुरोध गरेका छन् ।
साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार हालसम्म (अप्रिल १८, २०२०) साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । आज मात्रै ११ सय ३२ जनामा संक्रमण देखिएको छ ।
। कूल संक्रमितहरु मध्ये हालसम्म हजार १ सय ३२९ जना निको भएका छन् । साथै शनिबार ५ जना सहित जम्मा ९२ जना संक्रमितको मृत्यु भएको छ ।
नेपाली दूतावास साउदीका अनुसार थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन ।
संक्रमण आप्रवासीहरुमा पनि तीव्र हिसावमा बढेको हुँदा आफ्नो वरिपरी सम्पर्कमा आउने विदेशी नागरिकहरुसँग काम गर्दा, हिंडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ हुन तथा एकअर्कावीच दुरी कायम गर्न र कुनै पनि व्यक्ति वा सरसामानहरुलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्न पनि दूतावासले अनुरोध गरेको छ ।
साउदी अरबको नगर तथा ग्रामीण मामिला सम्बन्धी मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले कामदारहरुको आवास क्षेत्रका लागि नयां नियम ल्याएको ल्याएको पनि दूतावासले जनाएको छ ।
उक्त नियम अनुसार रोजगारदाता वा उसको कामदार आवासको सुपरभाइजरले आवासमा रहेका कुनै कामदारमा कोरोना सम्बन्धी कुनै लक्षणहरु देखिएमा अनिवार्यरुपमा स्वास्थ्य अधिकारीहरुलाई जानकारी गराउनुपर्ने छ । साथै, आवास क्षेत्र एवं खाना खाने क्षेत्रको अनिवार्य सरसफाइ गर्नुपर्ने छ । यी कार्यहरु जिम्मेवार भइ नगरेमा सुपरभाइजरलाई सा री ५ हजार देखि १० हजार सम्म जरिवाना हुने व्यवस्था गरेको दूतावासद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
दूतावासले स्वास्थ्य सम्बन्धी समस्या भएमा आफ्नो सुपरभाइजरलाई अनिवार्यरुपमा रिपोर्ट गर्न अनुरोध गर्दै सहयोग र समन्वय गर्नु उसको कानूनी कर्तव्य रहेको बताएको छ । यस्तो अवस्थामा सहयोग गर्न आनाकानी वा वेवास्ता गरेमा नजिकको प्रहरी कार्यालय, आफ्नो कफिल वा मानव संशाधन मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्दा स्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि दूतावासद्धारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।
वि.सं.२०७७ वैशाख ६ शनिवार २२:१९ मा प्रकाशित






























