१० बैशाख, बेलायत । बेलायतमा तीन दिनमा तीन नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका विजय गुरुङ र नन्द गुरुङ तथा तेह्रथुमका खर्क हाङ खापुङ लिम्बु रहेका छन् । उनीहरुमा एकजनाको कोरोना संक्रमण, एकको हृदयघात र एकको क्यान्सरका कारण मृत्यु भएको बताइएको छ ।
कास्कीको यांजकोट गाउँपालिका कास्की घर भई हाल बेलायतको रिडिङमा बस्दै आएका विजय गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
४९ वर्षीय गुरुङको ब्रेकसायर अस्पताल रिडिङमा उपचारका क्रममा आइतबार निधन भएको रिडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताएका छन् । गुरुङ रिडिङमा परिवार संग बस्दै आएका थिए ।
त्यसैगरी बेलायतमै तेह्रथुमका खर्क हाङ खापुङ लिम्बु (पूर्व गोर्खा सैनिक १० जी.आर पल्टन) को हृदयघातबाट मृत्यु भएको छ ।
तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका २ पुख्र्यौली घर भई हाल बेलायतको विलविचमा परिवारसँगै बस्दै आएका लिम्बुको मंगलबार (२१ अप्रिल) मा उपचारका क्रममा मृत्यु भएको किराँत याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाङफेले बताएका छन् । उनले लिम्बूको निधनले किराँत याक्थुङ चुम्लुङ युके परिवार मर्माहत भएको भन्दै श्रद्धान्जलि व्यक्त गरेका छन् ।
यसैगरी बेलायतमै रहेका नन्दजंग गुरुङको पनि निधन भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति तर्कजंग गुरुङका बुवा नन्द बहादुर गुरुङको पनि निधन भएको समाचार छ । कास्की घर भई बेलायतको अल्डरशटमा बसोबास गर्दै आएका भूपू राष्ट्रिय पन्चायत सदस्य तथा समाजसेवी गुरुङको बेलायतको केयर होममा ८६ वर्षको उमेरमा सोमबार राति निधन भएको बताइएको छ ।
क्यान्सर रोगको उपचार गराइरहेका गुरुङको निधनप्रति ताङतिङ मञ्च युके परिवार, नेपाली जनसम्पर्क समिति बेलायत, लण्डनको बोरो अर्फ बार्नेटका उपमेयर लक्ष्यबहादुर गुरुङलगायतले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
स्मरण रहोस्, बेलायतमा हालसम्म कास्कीका विजय गुरुङसहित कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १७ पुगेको छ ।
यसअघि कोरोना संक्रमणबाट लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङ, गोरखाका बुद्धबल गुरुङ, र ध्रुव कुमार श्रेष्ठ मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।
वि.सं.२०७७ वैशाख १० बुधवार १८:३९ मा प्रकाशित






























