१२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँझपख बालुबाटारमा भएको भेटघाटबारे जानकारी गराउँदै काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी गरिएको प्रेस नोटमा सभापति देउवाले ‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो भन्दै धन्यवाद’ व्यक्त गरेको जनाइएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेतको उपस्थितिमा भएको सो भेटघाटमा सभापति देउवाले एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने काममा संलग्न हुनेमाथि निष्पक्ष अनुसन्धान गरी कार्वाही हुनुपर्ने माग समेत गरेका छन् ।
‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’ प्रेस नोटमा उल्लेख छ ।
उनले कोभिड १९ को समुदाय स्तरमा व्यापक परीक्षणको आवश्यकता भएको ढिला नगर्न, स्वास्थ्यकर्मीहरुलाई पीपीइ लगायतका सामग्री यथासक्य उपलब्ध गराउन र स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न खोज्नेकाम तुरुन्त रोक्न आग्रह समेत गरेका छन् ।
काठमाडौमा अलपत्र परेका श्रमिकलाई कि सरकारले खान दिनु पर्ने कि त गाउँ जान दिनुपर्ने आग्रह गर्दै श्रमिक, बेरोजगार विद्यार्थी र साना ठूला व्यापारीलाई तत्काल अर्को प्याकेज ल्याउन सुझावसमेत दिएका छन् ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । हिजो रेमिट्यान्स पठाएर योगदान दिने नेपालीहरु आज अप्ठ्यारोमा रहेको भन्दै उनीहरुलाई तत्काल उद्धार गर्ने योजना बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताइएको छ ।
प्रेस नोटमा भनिएको छ ‘विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिट्यान्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्’ ।
आज दिनभर नेपाली राजनीतिमा निकै उतार चढाब आयो । आजै बिहान वैशाख ८ गत मन्त्री परिषद्ले जारी गरेका दुई अध्यक्षदेश फिर्ता लिने निर्णय आजको मन्त्री परिषद्ले ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुवै अध्यादेश खारेज गरेसँगै साँझपख सत्तारुढ दलका दुई अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापतिबीच बालुवाटारमा छलफल भएको हो ।
विश्वसँगै नेपाल पनि यतिबेला कोभिड १९ विरुद्ध लडिरहेको बेला प्रमुख प्रतिपक्षी दलको नेतृत्वसँगको भेटलाई सकरात्मक रुपमा हेरिएको छ ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार २०:२९ मा प्रकाशित






























