२२ बैशाख, काठमाण्डौं । प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले पोखरा महानगरको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार सहयोग गरेकी छन् । दिबङ्गत नेता रबिन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि सिलाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफूले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्चस्तरले लाग्नु जरुरी भएको बताइन् । सांसद भट्टराईले कोरोना भाइरस नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गरेकी छन् ।
यसैगरी रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख २२ सोमवार १७:३२ मा प्रकाशित






























