२६ बैशाख, काठमाण्डौं । नेपालमा शुक्रबार (बैशाख २६ सम्म) ६९ हजार ९८४ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १८५९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १५ हजार ४९२ र आरडिटी प्रविधिबाट ५४ हजार ५३१ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी ५०८ वटा पिसीआर नमुना परीक्षण गरिएको हो । यो विहिबारको तुलनामा झण्डै एकसय जनामा बढी परीक्षण गरिएको छ ।
प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ६ हजार ८४९, प्रदेश नं २ मा ५ हजार ३५६, बाग्मती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नं ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१६ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।
क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १४ हजार ६२६ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १ हजार ६४५, प्रदेश नं २ मा १ हजार २९१, बाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा ५ हजार ८०७ कर्णाली प्रदेशमा २ हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३९३ जना रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा १३५ जना रहेका छन् । जसमा उपत्यकामा ३ जना र बाहिरका अस्पतालमा १३२ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।
त्यसैगरी नेपालमा हालसम्म १०२ जनामा संक्रमण देखिएको छ । त्यसमा ३० जना निको भएर घर फर्किइसकेका छन् ।
कुन प्रदेशमा कति संक्रमित
हालसम्मा संक्रमित भएकामध्ये प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।
संक्रमित १०२ मध्ये ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । जसमा रुपन्देही ३, नेपालगन्ज २४, धनगढी १, भरतपुर १, विरगन्ज २६ र विराटनगर अस्पतालमा १७ जना गरेर जम्मा ७२ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ३ जना संक्रमित
आज भेरी अस्पताल नेपाल गन्जका गरिएको नमुना परीक्षणमा १६ वर्षीय युवामा कोरोना संक्रमण भेटिएका छन् । साथै बिहिबार बेलुका पनि कपिलवस्तुमा भारतबाट आएका १६ र २२ वर्षका दुई युवामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा उपचार भइरहेको छ । साथै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
डिस्चार्ज हुनेको संख्या ३० पुग्यो
नेपालमा कोरोना संक्रमणको उपचारपछि घर फर्किनेको संख्या ३० पुगेको छ । आज कोशी अस्पताल विराटनगरमा उपचाररत ८ जना निको भएर फर्किएका हुन् । उनीहरु मध्ये ५ जना १७ दिन र ३ जना १६ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:२३ मा प्रकाशित






























