विचारले नेपाली कांग्रेससँग नजिक भएपनि उनी आफूलाई कुनै दलको कार्यकर्ताको रुपमा भन्दा पनि सामाजिक कार्यकर्ता भन्न रुचाउँछन् । कुनै पनि राजनीतिक दलको नेता विदेश जाँदा कुनै अमुक दलको नेता मात्र नभएर सबै नेपालीको हुनु पर्ने उनको धारणा छ । कुनै दलका नेता विदेशमा जाँदा आफ्ना कार्यकर्तासँग मात्र भेटघाट गरेर फर्कन नहुने उनको भनाई छ, घिमिरे भन्छन् ‘नेता कुनै दलको मात्र पेवा होइन, देशकै नेता हुनुपर्दछ, त्यसैले सबै नेपालीसँग भेटघाट गर्नुपर्दछ ।’
मोरङको विराटनगर स्थायी घर भएका सोमनाथ घिमिरे करिब २० वर्षदेखि अमेरिकालाई नै कर्मथलो बनाउँदै आएका छन् । सँधै जागिरे भएर हुँदैन भनेर उनले सन् २०१४ बाट आफैले न्यूयोर्कको ज्याक्सन हाइटमा नमस्ते चौतारी रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । उनको रेष्टुरेन्टमा नेपाली, तिब्बती, इण्डियन खानाका साथै दोहोरी गीतको आनन्द पनि लिन पाइन्छ भने कालिज र हरिणको मासु समेत उपलब्ध छ । रेष्टुरेन्टमा आइतबारदेखि सोमबार चर्चित लोकदोहरी कलाकारहरू निशा सुनार, संगिता थापा मगर, बिमल डाँगी, नुच्छेनारायण डंगोलको दोहोरीको मज्जा लिन पाइन्छ । त्यस्तै मंगलबार, बिहिबार र शुक्रबार सपना श्री र यम बरालको स्वरमा आधुनिक गीत तथा गजलको आनन्द लिन पाइन्छ ।
घिमिरेले विभिन्न संघसंस्थामा सक्रिय रहेर सामाजिक कार्यकर्ताको पहिचान पनि बनाएका छन् । अमेरिकामा रहेका नेपालीहरूलाई संगठित गर्न पहिलो पटक नेपाल सेन्टर नामक संस्था गठन गरिएको थियो, जसको अध्यक्षमा कुलचन्द्र गौतम, उपाध्यक्षमा दुर्गाबहादुर (दुबसु) क्षेत्री, मुरारीराज शर्मा थिए भने घिमिरे महासचिव थिए । सो संस्थाले हाल गैरआवासीय नेपाली संघले ल्याएको जस्तो नेपाल हाउसको सोच त्यतिबलै सोचिएको थियो ।
अमेरिकामा अलपत्र परेका नेपालीहरूलाई आश्रय स्थल दिने उक्त सेन्टरको सोच थियो । अमेरिकामा नेपालीहरूको संख्या बढेसँगै नेपालीका संघसंस्था पनि बढ्न थालेका छन् । यसैक्रममा नेपालमा रहँदा राजनीतिक रुपमा सचेत युवाहरू विदेशमा पनि आफ्नो आस्थालाई मर्न नदिन संगठित हुन थाले । “सन् १९९८ मा अमेरिका पुगेकी नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यले बिपी कोइरालाले भारतमा जनसम्पर्क समिति गठन गरेको स्मरण गराउँदै अमेरिकामा पनि नेपाली कांग्रेसप्रति आस्थावानहरूलाई संगठित गर्दै जनसम्पर्क समिति गठन गर्न सुझाव दिइन । २००३ मा उनकै पहलमा नेप्लिज डेमोक्रेटीक युवा काउन्सिलको तदर्थ समिति गठन गरियो । जसको अध्यक्ष आनन्द विष्ट बनाइए भने महासचिव घिमिरे बने । पछि ‘त्यहि संस्था जनसम्पर्क समितिको रुपमा बिस्तार गरिएको घिमिरे बताउँछन् । न्यूयोर्कमा जनसम्पर्क समितिको कार्यालय स्थापना गरियो । कांग्रेसको भातृ संस्थाको इतिहासमा यसरी आफैले कार्यालय स्थापना गर्नेमा नेपाली जनसम्पर्क समिति अमेरिका पहिलो भएको घिमिरेको दाबी छ । सो कार्यालय आफ्नो प्रयोगको लागि मात्र नगरेर नेपालीहरूका लागि निःशुल्क कानुनी सेवा, स्वास्थ्य सेवा सम्बन्धि जानकारी दिने, काम खोजि दिने देखि आपतविपतमा परेका नेपालीलाई सहयोग गर्ने काममासमेत हुन्थ्यो ।
एलायन्स फर डेमोक्रेसी नेपालका अध्यक्ष, नेवि संघ अमेरिका र क्यानडाका पूर्व सभापति, एलायन्स फर डेमोक्रेसी एण्ड ह्युमन राइट्स इन नेपाल–यूएसएका अध्यक्ष रहेका घिमिरे झण्डै १ दर्जन संघसंस्थामा सक्रिय छन् ।
विभिन्न संघसंस्थामा रहे पनि उनको चिन्ता भने जनसम्पर्क समिति अमेरिकामा देखिएको विवादमा बढी छ । विवादको अन्त गर्न अनुरोध गर्दै उनले कहिले सानेपा पार्टी कार्यालयलाई त कहिले सम्बन्धित नेताहरूको नाममा पत्र लेखेर ध्यानाकर्षण गरिरहन्छन् । तर पनि समस्या घट्नु भन्दा झन झन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दछन्, घिमिरे । अहिले अमेरिकामा ३ वटा जनसम्पर्क समिति स्थापित छन् । त्यसमध्ये कांग्रेस पार्टीले टेक्सासका सुरेन्द्र देवकोटा नेतृत्वको जनसम्पर्क समितिलाई आधिकारीकता दिएको छ । अर्कोतर्फ आनन्द विष्टले नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल भण्डारीको उपस्थितिमा अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरेका छन् । गत मे २२ मा न्युयोर्कमा भएको नेपाल परेड डे मा सहभागि हुने र नहुने विषयको विवादले सभापति विष्टले अनुशासनहीन काम गरेको भन्दै वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि जनसम्पर्क समिति भित्र ३ गुट देखापरेको हो ।
जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद गुटको प्रभाव हो भन्ने उनलाई लाग्दैन, पार्टीले हस्तक्षेप गर्न नसक्दाको परिणाम भएको उनको ठहर छ । समितिमा आर्थिक हिनामिना बढ्दा, आफूखुशी जनसम्पर्क समिति गठन गर्दा पनि पार्टी मौन बस्नु कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीका लागि नसुहाउने उनको तर्क छ । पार्टीले कुनै पक्षलाई आधिकारीता दिनुअघि क्रियाशिल सदस्यता, आर्थिक पक्ष र अमेरिकी नीतिनियम अनुसार चलेको छ की छैन त्यो हेरेर हस्तक्षेप गर्नुपर्नेमा उनको जोड छ । यो भन्दा पनि बढी उनलाई चिन्ता जनसम्पर्क समिति भित्रको आर्थिक हिनामिनाको विषयमा अमेरिकाको इन्टरनल रेभेन्यू सर्भिसमा मुद्दा परेको छ । यद्यपी यस विषयमा अहिले आन्तरिक रुपमा हिसाबकिताब स्पष्ट भएको भनिएको छ । मिलाइएको भनिए पनि छानविनमा क्लियर देखिएन भने यो निकै दुखद् हुने उनको भनाई छ । अमेरिका ट्याक्सबाटै चल्ने देश भएको हुँदा यो विषयमा यदि जनसम्पर्क समिति कार्वाहिमा पर्यो भने यसले जनसम्पर्क समितिलाई मात्र नभएर त्यहाँ गठन भएका अन्य नेपाली संघसंस्थालाई पनि असर पार्ने उनी बताउँछन् । पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले पारदर्शीता र जवाफदेहिताको राजनीति गर्नुपर्ने घिमिरेको तर्क छ ।
विचारले नेपाली कांग्रेससँग नजिक भएपनि उनी आफूलाई कुनै दलको कार्यकर्ताको रुपमा भन्दा पनि सामाजिक कार्यकर्ता भन्न रुचाउँछन् । कुनै पनि राजनीतिक दलको नेता विदेश जाँदा कुनै अमुक दलको नेता मात्र नभएर सबै नेपालीको हुनु पर्ने उनको धारणा छ । कुनै दलका नेता विदेशमा जाँदा आफ्ना कार्यकर्तासँग मात्र भेटघाट गरेर फर्कन नहुने उनको भनाई छ, घिमिरे भन्छन् ‘नेता कुनै दलको मात्र पेवा होइन, देशकै नेता हुनुपर्दछ, त्यसैले सबै नेपालीसँग भेटघाट गर्नुपर्दछ ।’
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको पक्षमा क्याम्पियन गरेका उनी अमेरिकामा विश्वासको राजनीति गरिने उदाहरण प्रस्तुत गर्दछन् । नेपालमा राम्रो मान्छेको मूल्यांकन नहुने उनको तर्क छ । उनी भन्छन् “नेपालमा टिपेर ल्याउने प्रचलनले मूल्यांकन हुँदैन, राम्रा मान्छेहरू पछाडी पर्छन् ।” प्रजातन्त्र र विकास कार्यलाई सँगसँगै अगाडि बढाउन सकियो भने मात्र देशमा विकास सम्भव हुने उनी बताउँछन् । शासकहरूले जनताको पक्षमा काम गर्नुपर्ने र जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्दछ । हाम्रा नेताहरूले देशको आर्थिक समृद्धि कसरी हुन्छ भन्ने नजानेका र नबुझेका छैनन् । प्राय सबै नेताहरूले विदेश भ्रमण गरेका छन् विश्वमा देखेको विकासलाई नेपालमा केही प्रतिशत मात्र पनि लागू गर्न सके देशले आर्थिक समृद्धिको फड्को मार्ने घिमिरेको तर्क छ ।
वि.सं.२०७३ पुस ९ शनिवार ०४:५५ मा प्रकाशित