१७ जेठ, काठमाण्डौं । कोरोना संक्रमबाट दैलेखका एक युवाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकामा रहेको विद्युत कार्यालयको क्वारेन्टिनमा बसेका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो ।
दुल्लु ११ का ती युवा १० दिनदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी भारतको गुजरातबाट फर्किएका थिए । उनको श्वाव तीन दिनअघि परीक्षणका लागि सुर्खेत पठाइएपनि त्यहाँ धेरै नमुना परीक्षण गर्न बाँकी रहेकाले त्यहाँबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको दुल्लु नगरपालिकाका सूचना अधिकारी समसेर बहादुर शाहीले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘उहाँमा केही स्वास्थ्य समस्या देखिएको थिएन । बिहान चिया बिस्कुट खाएर बसेका उनी त्यहि बेहोस् भएका थिए ।’ हाल उनको शब त्यहि रहेको र दैलेखबाट आएको नेपाली सेनाको टोली शब व्यवस्थापनको प्रक्रियामा लागेको पनि शाहिले जानकारी दिएका छन् ।
साहिले दुल्लु नगरपालिकामा २,२२१ जना क्वारेन्टाइनमा रहेको र विद्युत् कार्यालयको भवनमा ७९ जना रहेको जानकारी दिएका छन् । दुल्लु नगरपालिकाबाट हालसम्म २०२ जनाको श्वाव परीक्षण गरेर अस्पताल पठाइएको भएपनि हालसम्म ३ जनामा पोजेटिभ देखिएको रिर्पोट आएको र अन्यको आउन बाँकी रहेको बताएका छन् । ती तीनजनामध्ये एक युवाको आज मृत्यु भएको हो ।
आज मृत्यु भएका दैलेखका युवासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसअघि अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।
उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार ९जेठ १४० गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।
उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।
यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
वि.सं.२०७७ जेठ १७ शनिवार २०:०९ मा प्रकाशित






























