
१८ जेठ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटना बारे मुख खेलेका छन् ।
जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको भन्दै यसलाई उनले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको बताएका छन् ।
नेता नेपालले‘एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको’ पनि प्रेस विज्ञप्तीमार्फत बताएका छन् ।
उनले विज्ञप्तिमार्फत भनेका छन् :
प्रेस विज्ञप्ति
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउनुहुने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, वेपत्ताको छिटो खोजी गर्न पनि अनुरोध गर्दछु ।
एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको छ । यसलाई मैले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको छु । छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ । अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ । स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन् ।
मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु । साथै, छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु ।
माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा
वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
१८ जेठ, २०७७