२६ जेठ, काठमाण्डौं । झण्डै ६ महिनादेखि विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले आक्रान्त बनेका विश्वका धेरै देशहरु यतिबेला कोरोना भाइरसलाई पराजीत गर्दै विस्तारै आफ्नै लयमा फर्कने प्रयासमा लागिसकेका छन् ।
यतिबेला नेपालमा भने कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा बढिरहे पनि लामो समय लकडाउनमा बसेका नेपाली जनता अब भने कोरोना भाइरससँगै दैनिक जीवन सहज बनाउनुपर्छ भन्नेमा लागिरहेका छन् ।
यसैबीच बेल्जियममा रहेर कोरोना भाइरस संक्रमण र त्यसले दिएको पीडालाई नजिकबाट भोगेका सामाजिक अभियन्ता दामोदर आचार्यले नेपालले कोरोना संक्रमणका बीच जनजीवन सहज बनाउनका लागि बेल्जियमबाट केही सिक्नुपर्ने बताएका छन् ।
लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत मार्च १३ देखि लकडाउन घोषणा गरेको बेल्जियमले लकडाउन खुकुलो बनाउने एक्जिट प्लान अनुसार तीन चरणको रणनीति बनाएको थियो ।
आचार्यले नेपालमा पनि लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउनतिर लाग्नुपर्ने बताएका छन् ।
सामाजिक अभियन्ता आचार्य भन्छन्
‘कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संक्रमण फैलिन रोकथामका लागि बेल्जियम सरकारले १३ मार्च २०२० देखी लकडाउन जारी गरेको थियो । र त्यो लकडाउन मई ३ सम्मको लागि थप गरेको थियो । सरकारको लकडाउन खुकूलो बनाउने Exit plan अनुसार त्यसलाई ३ चरणमा विभाजित गरिएको थियो ।
उक्त रणनीति अनुसार ४ मई २०२० बाट प्रथम चरणको Relaxation को सुरुवात भयो । जसअनुसार निजी घरहरूमा र स्कुलहरूमा सरसफाई गर्ने कार्यलाई पुनः सुचारू गरिएको थियो । साथै एउटै छानामुनि रहेका बाहेक अन्य व्यक्तिहरूसंग भेटघाट गर्न लगाइएको प्रतिबन्धलाई खुकूलो बनाऊदै क्रमशः ४ जनाले सामाजिक भेटघाट गर्न सकिने अनुमति प्रदान गरेको थियो । र स्कुलहरू Partial रूपमा संचालन गरियो ।
दोस्रो चरणको Relaxation १९ मईबाट प्रवेश गरेसंगै लत्ता कपडाका पसल, जुत्ता चप्पल, हेयर कटिङ सैलून, डिपार्टमेन्टल स्टोर र थप स्कुलहरू खुलेका थिए । साथै थप कक्षाका विद्यार्थीहरूको अध्यापन सुरू गरिएको थियो । सामाजिक भेटघाटको संख्या ४ जनाबाट बढाएर १० जनासम्म भेट्न सकिने अनुमति प्रदान गरेको थियो ।
आज ८ जून २०२० बाट लकडाउनको Relaxation तेस्रो चरणमा प्रवेश गरेको छ । जस अनुसार होटल, रेष्टुरेन्ट, क्याफे बार आदि खोल्न पाइने छ । यद्यपि ठुला इभेन्ट, सभा, समारोहहरू र धेरै ठुलो भेलासहित आयोजना गरिने खेलकूद प्रतियोगिता, मेलाहरूको आयोजनालाई भने ३१ अगष्ट २०२० सम्मको लागि प्रतिबन्ध लगाइएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशनअनुसार, डेढ मिटरको सामाजिक दुरी राख्ने, मास्कको उचित प्रयोग र स्यानिटाइजरको नियमित प्रयोग भने यथावत राख्नुपर्दछ ।’
वि.सं.२०७७ जेठ २६ सोमवार २०:३२ मा प्रकाशित






























