
७ असार, काठमाडौं । सरकारले शिक्षा बजेटमा ठूलो रकम बिनियोजन गरे पनि बिद्यालयहरुमा शिक्षक पर्याप्त नहुँदा स्थानीय तहहरु समस्यामा परेका छन । यस्तै भएको छ दार्चुलाको अपिहिमाल गाउँपलिकमा । गाउँपलिकका अध्यक्ष धर्मानन्द सिंह मान्यालका अनुसार सो गाउँपलिकामा जम्मा २१ वटा स्कूल छन । २१ वटा स्कूल भए पनि शिक्षक दरबन्दि भने जम्मा ४२ मात्र छ । गाउँपलिकको चालु आर्थिक बर्षको बार्षिक बजेट नै जम्मा ५ करोड ९० लाख रहेकोमा सोहि बजेटबाट विद्यालय शैक्षिक सुधार कार्याक्रमको लागि मात्र १ करोड ५० लाख खर्च गरेर पालिकाले शिक्षक पनि नियुक्त गरेको अध्यक्ष मान्यालले बताए ।
‘केन्द्रिय सरकारले समपुरक अनुदानकोे नाममा केहि अनुदान त दिन्छ तर त्यो अनुदानले केहि पनि गर्न सकिंदैन’ मान्यालले भने ‘हामीलाई बन्यजन्तु आरक्षण र शिकार आरक्षणको राजश्व संकलन गर्न दिनु पर्छ ।’
संबिधानतः राज्यले आधारभुत शिक्षा अनिबार्य तथा निशुल्क र माध्यामिक शिक्षा निःशुल्क गर्नु पर्ने व्यवस्था छ । संघीय सरकारले चालु आबको शिक्षामा मात्र करिब १६३ अर्ब बजेट छुट्याएको थियो । तर पनि बिकटका स्थानिय तहहरुमा शिक्षामा बजेट कम हुँदा बालबालिकहरु पठनपाठनबाट बन्चित भैरहेको सरोकावालाहरुको भनाई छ ।
त्यस्तै बिकटका स्थानिय तहहरुमा बजेट कम हुने तर खर्च गर्नु पर्ने ठाउँहरु धेरै हुँदा समस्या परिरहेको मान्यालले बताएका छन । ‘कूल पूँजीगत बजेटको ९० प्रतिशत भन्दा बढी खर्च गरिएको भए पनि हामीलाई बजेट पुगिराखेको छैन’ मान्यालले भने ‘बाटोघाटो छैन जनतालाई सास्ति छ । संघीय सरकारले हामीलाई पर्याप्त बजेट दिनु पर्यो ।’
त्यति मात्र हैन दार्चुला लगायतका सामरिक महत्वका ठाउँमा संघीय सरकारले त्यहाँका जनतालाई उचीत ध्यान नदिदा भारतीय पक्षले सिमाना अतिक्रमण गर्ने गरेको पनि जानकारहरुले बताएका छन ।