९ असार, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माले एमसीसी पारित भएमा नेपाल र नेपाली जनताले त्यसको मूल्य चुकाई नसक्नु हुने बताएका छन् ।
शर्माले अमेरिकी रणनीतिक स्वार्थ र नीति-नियत नबुझी एमसीसीलाई पारित गरियो भने यसमार्फत अमेरिका र उसको सेना प्रवेश गर्ने सुनिश्चित रहेको र यदि यस्तो भयो भने त्यसको मूल्य चुकाइ नसक्नु हुने भन्दै भनेका छन्, ‘होशियार देसभक्त जनसमुदायहरु ! खबर्दार सत्ता–भत्ताभक्त शासकहरु !!!’
शर्माले एमसीसी पारित हुने विडम्बना भयो भने नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्नतामा मात्र आँच आउने होइन, यसले त नेपालको स्वाभिमान, शान्ति, समृद्धी र सुव्यवस्थालाई समेत सर्वाधिक संहार गर्र्ने नेता शर्माले बताएका छन् ।
‘त्यसैले IPS को अङ्ग होइन भन्ने जस्ता स्पष्टीकरण, राष्ट्रघाती मानिएका सर्तहरुको पुनरावलोकन, संशोधन वा परिवर्तन आदि–इत्यादी केही गरिने अमेरिकी वा नेपाली सरकार वा संसदका आश्वासन, प्रतिबद्धता वा संकल्प जे जस्ता गरिए पनि ती सबै पूर्णतः धोका र पश्चात्ताप हुनेछन्,’ नेता शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘एकातिर दक्षिण एसियाको प्राकृतिक श्रोत र खनिजले समृद्ध देश नेपालका युरेनियम, जडीबुटी र उर्जाजस्ता सम्पदालाई कब्जा गर्ने र अर्कातिर चीन र भारत बीचको अन्तर्विरोधलाई चर्काउँदै दक्षिण एसियाको दादा भारतलाई समेत साथ लिएर चीन र तिब्बत विरोधी गतिविधि गर्न सबैभन्दा अनुकूल हुने देश पनि नेपाल नै भएकोले पनि अमेरिका जसरी पनि नेपाल प्रवेश गर्न चाहन्छ ।’
वि.सं.२०७७ असार ९ मंगलवार ११:१३ मा प्रकाशित






























