प्रोल्लास सिन्धुलीय
हरेक मान्छे असामान्य हुन्छन् । पढेका मान्छेमात्र विद्वान् हुन्छन् र नपढेका मूर्ख हुन्छन् भन्नु भ्रम हो भन्ने निष्कर्ष पनि यसले दिनेछ । विद्वता र औपचारिक शिक्षा भन्ने कुरा अलग हो । पढेको मान्छे मात्र विद्वान् हुँदैन, नपढेको मान्छे पनि विद्वान हुनसक्छ भन्ने सन्देश उपन्यासमार्फत दिन कोसिस गरेको छु ।
एउटा मानिस शून्यमा जन्मिन्छ र मरेपछि शून्य भएरै जल्छ, चाहे उससँग अथाहा सम्पत्ति नै किन नहोस् । शून्य जीवनलाई माथि उकास्ने वा झन् शून्यमा झार्ने ? स्वयम् त्यो मान्छेमा भर पर्ने कुरा हो । कुनै पनि मानिस आफ्नो जीवनलाई शून्य बनाउन चाहँदैनन् । यदि शून्य हुन्छ त त्यो बाध्यता वा परिबन्दले हुन्छ । हरेक मानिसहरु शून्यबाट सयमा पुग्ने अभिलाषामा दौडिनै रहन्छन् । तर, धेरैजसो सफल हुँदैनन् । हो, यस्तै जीवनको आरोह–अवरोह झेल्दै कुदिरहेका छन् आम मान्छेहरु । यी तमाम मान्छेका भीडबाट एउटा पात्रलाई उभ्याएका छन् कवि प्रोल्लास सिन्धुलीयले उपन्यासमा । सांग्रिला बुक्सले प्रकाशन गरेको उनको उपन्यास ‘शून्य डिग्री’ यही आउँदो २२ गते सार्वजनिक हुँदै छ । कस्तो कथा हो शून्य डिग्री ? कसरी र किन लेखियो ? यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमका लागि संगीता पनेरुले सिन्धुलीयसँग गरेको कुराकानीको अंश:
शून्य डिग्री कस्तो उपन्यास हो ?
यो सामाजिक विषयवस्तुमा केन्द्रित उपन्यास हो । उपन्यासको एउटा पात्र, जो यही समाजको हो । जसलाई हामीले सामान्य मान्छे ठानिरहेका हुन्छौँ, सतही मूल्याङ्कन गर्छौं । त्यो सबै सत्य नहुँदो रहेछ । एउटा सामान्य मान्छे जसलाई नजिकबाट निहाल्यौँ र गहिराइमा पुगेर उसको वास्तविकता पत्ता लगाउने कोसिस ग¥यौँ भने त्यो मानिस असामान्य हुने रहेछ । त्यसैले हचुवा र सतही आधारमा कुनै मानिसको असली मूल्याङ्कन नहुने रहेछ भन्ने कुरा यस उपन्यासमा ल्याउने प्रयास गरेको छु ।
उपन्यासमा कस्तो पात्र र परिवेश चित्रण गरिएको छ ?
यो एउटा वास्तविक पात्रको जीवनमा आधारित कथा हो । एउटा मानिस शून्यमा जन्मियो । उसले उमेरसँगै शून्य जीवनलाई भरेर हराबरा बनाउने कोसिस ग¥यो । ऊ सफल पनि भयो । तर फेरि ऊ शून्यमै झ¥यो । शून्यबाट माथि जाने र शून्यमा झर्ने क्रम उसको भइनै रहयो । शून्यबाट तलमाथि जाँदाजाँदै शून्यमै झरेपछि उपन्यास सकिएको छ । तर, पात्रको जीवन सकिएको छैन । पात्रलाई सँगै लिएर सिन्धुपाल्चोक, मकवानपुरका विभिन्न गाउँ र सिक्किमसम्म पुगेको छु । अनि त्यहाँबाट फर्केर आएपछि मात्र उपन्यासका तत्तत् भाग लेखेको छु । यस अर्थमा यो उपन्यास हाम्रो समाजको एउटा चित्र उतार्ने प्रयत्न पनि हो । शून्यबाट माथि जाने प्रयत्न गरिरहने तर जिन्दगीको धरातल शून्यको शून्य नै रहिरहने आम मान्छेहरुको कथा हो ।
कति समय लगाउनु भयो उपन्यास लेख्न ?
झन्डै ६ वर्ष लगाएँ । कवितामा धेरै सोचिन्छ, थोरै लेखिन्छ । त्यही बानीले होला, कविता लेख्ने मान्छेलाई उपन्यास लेख्न समय अलिक बढी नै लाग्दो रहेछ । हुन त मैले यो भन्दा अगाडि दुईवटा उपन्यास लेखिसकेको छु । तर, ती आभ्यासिक, अपूरा र यत्तिकै छाप्नलायक छैनन् ।
उपन्यासको शीर्षक शून्य डिग्री नै राख्नुको मुख्य कारणचाहिँ के हो ?
मैले ६ वर्षदेखि ती पात्रसँग प्रत्यक्ष रुपमा देखिरहेको र भेटिरहेको छु । उपन्यास लेखनका लागि जुनजुन ठाउँमा पुगेँ, त्यहाँ तिनै पात्रसँग पुगेको हुँ । उपन्यास लेख्नुअघि खुबै घुमेको छु म पात्रसँग । तथापि यति लामो समय अवश्य लाग्ने थिएन । तर, जो व्यक्तिलाई मैले उपन्यासको पात्र बनाएको थिएँ, बीचमा उनी साह्रै बिरामी भए । मृत्युको मुखसम्म पुगे । झन्डै उपन्यास नै बे्रक गर्नुपर्ने स्थिति आयो । जब उनी पूर्ण रुपमा निको भए, अनि फेरि उनीसँग घुम्ने र लेख्ने क्रम सुरु भयो । पात्रको जीवनको आरोह, अवरोह घरीघरी शून्यबाट माथि उठ्ने र पुनः शून्यमै आइपुग्ने हुन्छ । त्यसैको प्रतिबिम्बन हुनेगरी उपन्यासको शीर्षक शून्य डिग्री राखिएको हो ।
एउटा चर्चित कवि, उपन्यास ल्याउँदै हुनुहुन्छ ? व्यापक चर्चा पाउने पाउने आशमा हुनुहुन्छ होला है ?
शून्य डिग्री मार्काको उपन्यासले बजार तताउँछ, बढी हल्लाखल्ला गर्छ भन्ने मनोविज्ञान मेरो पनि छैन अनि प्रकाशकको पनि छैन । यो उपन्यास सदाबहार टाइपको हुनेछ, र लामो समयसम्म सामाजिक परिवेशको प्रतिबिम्बन गरिहनेछ भन्ने विश्वास भने छ । विशेषतः जीवनसँग हार खाएकाहरुका लागि शून्य डिग्री प्रेरणादायक हुनसक्छ । किनकि यो उपन्यास जिन्दगीसँग हार्न नचाहनेको कथा हो ।
सन्देश के दिन्छ त उपन्यासले ?
हरेक मान्छे असामान्य हुन्छन् । पढेका मान्छेमात्र विद्वान् हुन्छन् र नपढेका मूर्ख हुन्छन् भन्नु भ्रम हो भन्ने निष्कर्ष पनि यसले दिनेछ । विद्वता र औपचारिक शिक्षा भन्ने कुरा अलग हो । पढेको मान्छे मात्र विद्वान् हुँदैन, नपढेको मान्छे पनि विद्वान हुनसक्छ भन्ने सन्देश उपन्यासमार्फत दिन कोसिस गरेको छु ।
वि.सं.२०७३ पुस १२ मंगलवार ०९:५१ मा प्रकाशित