काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । शीर्ष नेताहरुसँगको छलफल पछि उनी राष्ट्रपतिलाई भेट्न बालुवाटारबाट बाहिरिएका हुन् ।
यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्ने निर्णय गरेसँगै स्थायी समिति बैठक स्थगित गरि प्रचण्डले शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमलगायतसँग छुट्टा छुट्टै छलफल गरेका थिए ।
आकस्मिक संसद बैठक अन्त्य गर्ने निर्णय गरेका ओलीसँग प्रचण्डले बालुवाटारमै केही बेर वान टु वान वार्तासमेत गरेका थिए । महासचिव विष्णु पौडेलको पहलमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बीचमा पनि छलफल भएको थियो ।
प्रचण्ड शीतल निवास किन पुगे ?
प्रचण्ड बालुवाटारको छलफल छोडेर अहिले शितल निवास पुगेका छन् । नेकपा स्रोतले जनाएअनुसार उनी प्रधानमन्त्री ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशबारे छलफल गर्न शीतल निवास गएका हुन् ।
संसद स्थगनसँगै ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना बढिरहेका बेला प्रचण्डले राष्ट्रपतिसँग परामर्श गर्न पुगेका हुन् ।
यसअघि वैशाख ८ मा ओलीले अकस्मात दुई अध्यादेश ल्याएर राष्ट्रपतिबाट समेत अनुमोदन गराएका थिए । कोरोना संकटका बीच ल्याइएको उक्त अध्यादेशबारे चौतर्फी विरोध भएसँगै उनले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए ।
वि.सं.२०७७ असार १८ बिहीवार १५:२१ मा प्रकाशित






























