काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी) सम्झौताबारे पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चार माध्यममा एमसीसी सम्झौतालाई संशोधन गर्नुपर्ने समाजवादी पार्टीले धारणा राखेको विषय सार्वजनिक भएसँगै यादवले पार्टीको धारणा राखेका हुन् ।
एमसीसी सम्झौताबारे पार्टीले कुनै निर्णय नगरेको र आधिकारिक धारणा पनि सार्वजनिक नगरेको यादवले बताएका छन् । सार्वजनिक विषयप्रति पार्टीले जिम्मेवारी नलिने पनि उनको स्पष्टोक्ती छ ।
एमसीसी सम्झौतालाई जोडेर जनता समाजवादीको नाम आएसँगै यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमसीसीबारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन। पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन।’
MCC बारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन। पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन। पार्टीको निर्णय भनी MCC बारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन।
— Upendra Yadav (@upendrayadavjee) July 13, 2020
यादवले समाजवादी पार्टीको नाम जोडिएर आएको समाचार भ्रामक र गलत रहेको पनि बताएका छन् । ‘पार्टीको निर्णय भनी एमसीसी बारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन’, यादवले भनेका छन् ।
आइतबार केहि सञ्चार माध्यममा एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न समाजवादी पार्टीले सरकारसँग अनुरोध गरेको विषय सार्वजनिक भएको थियो । सार्वजनिक समाचारमा समाजवादी पार्टीले सरकारलाई एमसीसी सम्झौतामा ८ बुँदा गलत रहेको भन्दै ५ बुँदे सुझाव दिएको थियो ।