
३० असार, काठमाण्डौं । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाली महिलामा पारेको प्रभावका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेद्धारा जुम अनलाइनमार्फत् आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा महिला अधिकार तथा सामाजिक अभियन्ताको रुपमा कार्यरत ६ जना वक्ता ‘प्यानलिस्ट’ थिए भने महिला अधिकारकर्मी, एनआरएन अभियन्ता, पत्रकार लगायत झन्डै ९० जनाको सहभागिता रहेको थियो ।
एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई र अधिकारकर्मी निर्मला शर्माको सन्चालन रहेको उक्त कार्यक्रममा उठान गरिएका विषय र त्यसमाथिको छलफलबाट प्राप्त निष्कर्ष सम्बन्धित क्षेत्रको समस्या पहिचान र समाधानका उपायहरुको कार्यान्वयनमा मद्दत पुग्ने संघका महासचिव फणिन्द्र भट्टराईले बताएका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए बेलायतकी अध्यक्ष पुनम गुरुङले अहिले पनि नेपाली महिला देश तथा देश बाहिर पक्षपातपूर्ण व्यवहारको शिकार भइरहेको र नेपाल तथा नेपाल बाहिरका विभिन्न नेपाली संघसंस्थाहरुमा समेत पुरुषहरु नै हावी भएको कुरा राख्दै एनआरएन यूकेमा अहिले महिला नेतृत्व रहेको तथा संस्थामा एक तिहाई महिलाको सहभागिता रहेको दावी गरेकी थिइन् ।
कार्यक्रममा सञ्चालिका निर्मला शर्माले नेपालमा रहँदा आर्थिक समस्या तथा विभिन्न बाध्यताले विदेश पुगेर फर्किएका नेपाली महिलाहरुको समाजमा पुर्नस्थापनाको सवाल लगायतका विषय उठान गरेकी थिइन् ।
त्यसैगरी प्रमुखअतिथि मन्त्री पार्वत गुरुङले एनआरएन यूकेद्धारा आयोजित यस्ता खाले कार्यक्रमले नेपाल सरकारलाई नीति निर्माण र कार्यान्वयन तहमा ठूलो सहयोग मिल्ने बताए । मन्त्री गुरुङले वैदेशिक रोजगारका सुःखद दुःखद दुवै आयाम रहेको उल्लेख गर्दै नेपाल सरकार अल्पकालीन र दीर्घकालीन समस्या समाधानमा क्रियाशील रहेको बताए ।
मन्त्री गुरुङले पुरुषको तुलनामा महिलामा कोभिड–१९ को जोखिम, संक्रमण तथा मृत्युदर कम रहेको बताए । उनले विदेशबाट फर्किने महिलाका लागि तीनै तहका सरकार र अन्य संघसंस्थाले पनि सक्रिय भूमिका निर्वाह गरेको बताउँदै संकटको बेला सेवा पुर्याउने संघसंस्थाप्रति आभार व्यक्त गरेका थिए ।
मन्त्री गुरुङले समाज समृद्ध बनाउन उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण गर्न एनआरएनसँग साझेदारी गरेर काम गर्न नेपाल सरकार तत्पर रहेको पनि उनले बताए ।
कार्यक्रममा सांसद डिला संग्रौलाले विदेशबाट फर्किएका महिलाको वर्तमान अवस्था र पुनस्थापनाका विषयमा आफ्नो प्रस्तुति दिएकी थिइन् भने सामजिक अभियन्ता डा. रेणु अधिकारी राजभण्डारीले महिला हिंसा हिजो पनि र आज पनि रहेकामा ‘कोभिड १९’ ले समस्या थप उजागर गरेको बताइन् ।
त्यसैगरी एनआरएनए आइसीसी मध्यपूर्वकी प्रतिनिधि यस्मिन बेगमले खाडी मुलुकका समस्याबारे आफ्ना भनाई राख्दैे वैदेशिक रोजगारको ज्ञानमा कमी र घरेलु हिंसाका घट्ना पनि समस्याका रुपमा रहेको औंल्याइन् ।
एनआरएनए, आइसीसी महिला संयोजक भोमा लिम्बुले संसारभर परेको ‘कोभिड १९’ प्रभाव र विशेषतः महिलाहरुको समस्या बारेमा अध्यावधिक तथ्यांक प्रस्तुत गरिन् ।
पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले नेपाली महिलाको सवालमा ‘घरले नहेरे माइत जानु, माइतीले पनि नहेरे मुग्लान जानु’ भन्ने उखान चरितार्थ रहेको बताइन् । नेपाल सरकारको प्रयासका बावजुद पनि महिलाका समस्या यथावत रहेका औंल्याउँदै उनले नेपालको सामाजिक सुरक्षा योगदानको आधारमा आधारित रहेको बताइन् ।
कार्यक्रममा आइसीसी सदस्य रामशरण सिम्खडा, वरिष्ठ पत्रकार भागिरथ योगी, धर्म तामाङ (यूके), अम्बिका खत्री (कतार), यशोदा गुरुङ, हरी भट्टराई (बेल्जियम) अमृता गिरी, सुनिता गौतम, जानकी पौडेल (अष्ट्रेलिया), बाबा राजेश्वरी थापा (अष्ट्रिया), अमित चाम्लिड्ग (कुवेत), प्रकाश कोइराला (यूएई अध्यक्ष) डा. सुस्मा बस्नेत, भगवती रानाभाट, राजकुमार थापा (पोर्चुगल), लगायतले मन्त्री तथा अन्य वक्तामाझ प्रश्न र सुझाव प्रस्तुत गरेका थिए । साथै समर्पण समूहकी कान्ती गुरूङ श्रेष्ठले यस्तो खालको कार्यक्रममा पहिलोपटक सहभागी हुन पाएको भन्दै एनआरएनए युकेलाई धन्यवाद दिएकी थिइन् ।