
३१ असार, काठमाडौँ । नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।
२०७७ असार २९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. बिकलाई सचिव पदमा बढुवाको निर्णय गरेको हो ।
लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिवका लागि विकसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो। तीनमध्येबाट विक सचिव बढुवा भएका हुन्।
पाल्पाको तत्कालिन देउराली गाविस लघुवामा जन्मिएका उनले स्थानीय भैरव जनता माविबाट एसएलसी पास गरेका थिए । २०४७ सालमा खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका उनले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् ।
बिक दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी हुने पनि पहिलो व्यक्ति थिए । उनी २०६० सालमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भएका थिए । बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँ लगायतका जिल्लामा सिडियो भई काम गरेका उनले श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
पहिलो पटक दलित समुदायबाट सचिव पदमा बढुवा भएकोमा खुशी व्यक्त गर्दै दलित एकता संजाल बहराईन परिवारको तर्फबाट डा विकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।