मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । कृषितर्फ आम्दानी बढ्नेछ भने उपभोग्य सामग्री जुटाउन सफल भइनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम र दाम आर्जन गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । परिस्थितिवश सामान्य काममा अलमल बढ्नेछ । आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाका साथीभाइको निम्तो प्राप्त होला ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नियमित काम सम्पादन गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यापारमा मनग्य फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । तर, प्रतिफलका लागि समय पर्खनुपर्नेछ । परिस्थितिवश लगानी रकम अरूका लागि खर्च गर्नुपर्ला । सरसापटमा धन बाहिरिने सम्भावना छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्नेछ । साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ । लगनशीलताले आँटेको काम बन्नेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ ।
वि.सं. २०७७ साउन १० शनिवार (इ.स. २०२० जुलाई २५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ साउन १० शनिवार ०८:०७ मा प्रकाशित




























