१२ साउन, काठमाडौँ । स्याङ्जा जिल्लामा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा एकै दिन प्रहरी प्रमुखसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुखसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।
यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।
साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएकोमा ३५ जनाको रिपोर्ट आउँदा १७ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।
कोरोना समुदाय स्तरमा नै संक्रमण पुग्न सक्ने अवस्था रहेको भन्दै जिल्ला अस्पताल स्याङ्जाले सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।
अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३९९ पुगेको छ । आज गण्डकी प्रदेशमा थपिएका संक्रमित मध्ये स्याङ्जामा १८ जना, कास्कीमा दुई जना र लम्जुङमा दुई जना रहेका छन् ।

वि.सं.२०७७ साउन १२ सोमवार १८:०२ मा प्रकाशित






























