back
CTIZAN AD

नेकपा विवाद : किन पछि हट्यो बहुमत पक्ष ?

वि.सं.२०७७ साउन १४ बुधवार

696 

shares

काठमाडौं । आन्तरिक विवाद चर्किरहँदा सत्तारुढ नेकपाभित्र बहुमत पक्ष भने अलमलमा देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा गराउने अडानमा देखिएको बहुमत पक्ष निर्णय लिने सन्दर्भमा भने अलमल देखिएको हो ।

मंगलबार आन्तरिक विवादकै बीच बहुमत सदस्यको तर्फबाट बसेको स्थायी समिति बैठक अल्पमत पक्षलाई कारबाही गर्ने सन्दर्भमा भने हच्चिएको छ । झण्डै दुई तिहाई सदस्यको उपस्थितिमा बसेको बैठकले निर्णयमा भने सहमतीबाटै अगाडि बढ्ने निष्कर्ष निकालेको थियो । बैठकले ओलीको कदम अनुचीत भएको भने पनि अबको निकास सहमती नै भन्ने निकालेको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगन गराएको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले सञ्चालन गरेको थियो । बैठकमा ४५ स्थायी समिति सदस्यमध्ये झण्डै दुई तिहाई (२९ जना)को उपस्थिति रहेको थियो ।

यसअघि बहुमतबाट निकास खोज्ने निर्णय दाहाल–नेपाल पक्षले गरेको भएपनि मंगलबारको बैठकमा भने पूर्णं हच्चिएको देखिन्छ । दाहाल–नेपाल समुहले सहमतीय पाटोबाट अगाडि बढ्ने निर्णय गरेसँगै नेकपाभित्र भने नयाँ राजनीतिक धुव्रीकरणको चर्चा चलेको छ ।

खुमलटार भेलाले बहुमतबाट निकास खोज्ने निर्णय गरेको थियो

निर्धारित स्थायी समिति बैठक बस्ने–नबस्ने अनिश्चित बनेको बेला सोमबार पार्टी अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेलाले बहुमतबाट निकास खोज्ने निर्णय गरेको थियो । भेलाले सहमतीय प्रयास बिफल भएको निष्कर्ष पनि निकालेको थियो । भेलामा सहभागी नेताहरुले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बहुमतको सुत्रमा सहमती जनाएका थिए ।

भेलामा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहितका केही स्थायी कमिटी नेताहरुको सहभागिता थियो ।

किन पछी हट्यो बहुमत पक्ष ?

स्थायी समिति बैठक स्थगन गर्ने ओलीको एकल निर्णयसँगै बसेको स्थायी समिति बैठकले पार्टी विवादको विषयमा निर्ममतापूर्वक निर्णय गर्ने अपेक्षा गरिएको थियो । ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको दाहाल–नेपाल पक्षले बैठकबाट ओलीलाई कारबाही गराउन सक्ने धेरैको बुझाई थियो । तर, बैठक निर्णय गर्ने सन्दर्भमा भने पुरै हच्चिएको छ ।

नेकपाका एक स्थायी समिति सदस्यले बताएअनुसार नेताहरुका बीचमा विश्वास नहुँदा बैठकले निर्णय गर्न नसकेको हो । नेताहरुले ओलीमाथि कारबाही गर्ने निर्णय गर्दा पार्टी फुट्ने भन्दै सहमती नै खोज्नुपर्ने बताएको उनको भनाई छ ।

‘उपस्थित २९ जना भएपनि निर्णय गर्ने सबालमा भने सबै विभाजित देखिनुभयो, के गर्ने भन्ने अन्यौंल देखियो, कतिपयले प्रचण्डमाथि अविश्वास गरेको पनि देखियो’ उनले भने, ‘पार्टी फुट्ने धेरैमा शंका देखियो, सर्त राख्ने तर त्यहीँ भित्र खेल्ने पनि नेताहरुमा मनोविज्ञान देखिएसँगै निर्णय नभएको हो ।’

बामदेवको प्रस्तावले पनि थप अन्यौंलता

मंगलबार नै पार्टी उपाध्यक्षसमेत रहेका स्थायी समिति सदस्य बामदेव गौतमले राखेको ६ बुँदे प्रस्तावले पनि नेकपाभित्र फरक अन्यौंलता सिर्जना गराएको छ । बामदेवको ६ बुँदे प्रस्तावसँगै दाहाल–नेपाल समुहभित्र पनि अविश्वास बढेको छ । बामदेवको प्रस्तावसँगै पार्टी समिकरण परिर्वतनको डरले नेताहरु निर्णयको सन्दर्भमा भने हच्चिएका हुन् ।

बामदेवको ६ बुँदे प्रस्तावमा ओलीलाई नै सहयोग गर्ने मनसाय छ । जहाँ उनले महाधिवेशनसम्म नै ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहने उल्लेख गरेका छन् ।

वि.सं.२०७७ साउन १४ बुधवार १५:३० मा प्रकाशित