काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ को आयोजना गरिने भएको छ ।
ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको जनाएको छ ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा ग्रेटर न्यूयोर्क नेपाली चेम्बरले न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना गर्न लागिएको सम्मेलनको नारा ’कनेक्टिङ क्यापिटल, आइडियाज एण्ड अपर्चुनिटिज’ राखिएको छ ।
आयोजक संस्था चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले सम्मेलन नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियानका रुपमा रहने बताउनुभयो ।
सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीति निर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
“नबिस एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो, यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पुँजी र मानिसलाई जोड्ने एउटा साझा मञ्च हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिको ज्ञान, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।”
नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, पूर्वाधार, उत्पादनमूलक तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना रहेको हुनाले लगानीका लागि उपयुक्त थलो भएको उहाँको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा नबिसलाई अगाडि बढाइने छ ।”
अमेरिकाभर रहेका नेपाली व्यवसायीलाई सशक्त बनाउनु पनि सम्मेलनको महत्वपूर्ण उद्देश्य रहेको उहाँको भनाइ छ ।
न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्सास, इलिनोइस, फ्लोरिडा र वासिङ्टनसम्म नेपाली उद्यमीले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।
सम्मेलनले ती व्यवसायीबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान विश्वास लिइएको छ ।
अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो, नेपाली–अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको हुन्छ ।”
सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तरराष्ट्रिय व्यापार तथा पुँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ ।
सम्मेलनका क्रममा अन्तरराष्ट्रिय तथा डायस्पोरा नेताको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकारबीच भेटघाट, रणनीतिक साझेदारी बैठक तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ ।
स्टार्टअप तथा उद्यमीले आफ्नो व्यवसाय प्रस्तुत गर्न स्टार्टअप सोकेश तथा प्रडक्ट लञ्चका लागि आवेदन दिन सक्नेछन् ।
संयुक्त राष्ट्रसङ्घ (युएन)को महासभाको उच्चस्तरीय सप्ताह तथा ‘क्लाइमेट विक एनवाइसी’ को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले नबिस २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
वि.सं.२०८३ असार ३१ बुधवार १६:५७ मा प्रकाशित






























