२१ साउन, काठमाण्डौं । लेबनानको राजधानी बेरुतमा भएको ठूलो बम विस्फोटमा ७० जनाको मृत्यु हुनुका साथै ४ हजार बढी घाईते भएको त्यहाँका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।
लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार एक गोदाममा राखिएको विस्फोटक पदार्थ बिस्फोट हुँदा उक्त घटना भएको हो ।
लेबनानका राष्ट्रपति मीसेल आउनले ट्विट गर्दै २७ सय ५० टन आमोनियम नाइट्रेट असुरक्षित रुपमा राखिनु ‘अस्विकार्य भएको बताएका छन् । साथै उनले विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको समेत बताएका छन् ।
विस्फोटनपछि लेबनानका प्रधानमन्त्री हसन दिआबले दुःख व्यक्त गर्दै यस्तो भयावह घटनाका दोषी जो कोहीलाई पनि नछोडिने बताएका छन् । प्रधानमन्त्री दिआबले बुधबार राष्ट्रिय शोक घोषणा समेत गरेका छन् ।
लेबनानमा भएको उक्त विस्फोट २४० किलो मिटर पर रहेको साइप्रसमा समेत सुनिएको अन्तराष्ट्रिय संचारमाध्यममा जनाईएको छ ।
वि.सं.२०७७ साउन २१ बुधवार ०८:१६ मा प्रकाशित






























