३० साउन, काठमाडौँ । काठमाण्डौ उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौ (District Administration Office, Kathmandu)ले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएको हो ।
खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक साँस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको छ ।
साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुदल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ ।
उद्योग व्यवसाय सञ्चालनका लागि कामदारको ओसार गर्न नपाइने, टेक बे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न पनि नपाइने भएको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार २०:५९ मा प्रकाशित






























