यो पूर्वीय धरा छ कञ्चन सधैँ चम्कन्छ हीरा भई
आफ्नो व्योम छ दीप्त भर्दछ कला जो पर्वको मास भै
यो संसार विचित्र सृष्टि जनको नारीहरूले गरे
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।१।।
एकै हुन् जननी दिदी र बहिनी सासू बुहारी फुपू
सारा रूपहरू सँधैँ अमर छन् देवी धरित्री बुझूँ ।
रित्तो काख भराउँने भुवनमा वात्सल्य हौ कर्मले
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।२।।
हाम्रा राष्ट्रिय चाड भक्ति महिमा दीपावली झैँ दशैँ
पूर्वी दर्शनको अखण्ड ममता पाइन्छ खोजे यतै ।
नौ दुर्गे वरदान दिव्य भवमा पूजिन्छ नारी बुझे
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।३।
छोरी माइतमा बधू वरसँगै मातृत्व आमा पछि
सिङ्गो यो परिवारको चहक हुन् सर्वत्र छाएपछि ।
शिक्षामा समता छरेर भरिलो सन्तान ब्युँझाउने
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।४।।
ऊर्जाको भ्रुण हौ पराजय कतै भेटिन्न तिम्रो अघि
नौलो यो अनुराग फुल्दछ सधैँ प्रत्येक नाता भरि ।
वाणीमा पनि मोहिनी लत हुँदा साँच्चै परी देखिने
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।५।।
शिक्षा न्याय र चेतना झुर भए, सिद्धिन्छ मान्छे पनि
भित्री दीप जलोस् र चिन्न सकियोस्, सम्मान के हो भनी ।
आफैँभित्र रहन्छ मानवकला टेकिन्छ धर्ती भने
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।६।।
छोरो खोज्दछ मर्दले यदि भने लक्ष्मी कहाँ पाउलान्
छोरी त्याग्दछ मर्दले यदि भने सौभाग्य पन्छाउलान् ।
नारी पढ्न सिकौँ सफेद मनले यो विश्व हेर्ने भए
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।।७।।
ज्योत्स्ना हुन् जब चाडका सगरमा आमा दिदीको घर
चम्कन्छन् मणिरत्न झैँ सुखहरू सम्झी पुराना दिन ।
यो वेला हरितालिका फसल छन् उत्सर्गमा लाग हे !
श्रद्धाभाव सदा समर्पण गरी सम्झन्छु सद्भावले ।। ८।।
छन्दः शार्दूलविक्रीडित
वि.सं.२०७७ भदौ ६ शनिवार ०९:०१ मा प्रकाशित