back

बृद्धबृद्धालाई विद्यालयको योजना गरौं

वि.सं.२०८१ वैशाख २६ बुधवार

6.7K 

shares
RBB AD
NTC AD

केही दिनअघि तुलसीपुर–१ भमके निवासी ९० वर्र्षीय प्रेमबहादुर डाँगी एक कक्षामा भर्ना भएर पढ्न लाग्नु भएको समाचार पढेपछि खुशीसँगै मनमा थुप्रै कुराहरु जर्बजस्त रुपमा उठे । दिन कटाउन गाह्रो भएका बृद्धबृद्धाहरुलाई डाँगीले देखाउनु भएको बाटो प्रेरणा बन्न सक्छ र सरकारले त्यसलाई गम्भिरतापूर्वक लिन सक्यो भने बुढेसकाल भोगिरहेकाहरुलाई ठूलो उद्धार पनि हुन्छ भन्ने तर्क मनमा उठ्यो ।

प्रेमबहादुर डाँगी । तस्विर स्रोत : नेपाल समय

बृद्धबृद्धाहरुको कष्टपूर्ण अवस्था देखिरहेको र आफ्नै उमेर पनि बिस्तारैबिस्तारै ढल्कँदै गैरहेको अवस्थामा आजदेखि नै किन भोलिको आफ्नो बुढेसकाल सहज नबनाउने ? यसो गर्न पाए कसो होला भन्ने सवाल मनमा आएपछि साझा बहसको रुपमा लैजानु नै पर्ने ठम्याइ रह्यो । र बहसका रुपमा उठाउनु पर्ने सान्दर्भिकता ठानि केही कुराहरु शेयर गरेको छु ।

‘न सकिन्छ गरी खान, न सकिन्छ मरि जान बुढेशकालैमा’ एकनारायाण भण्डारी र बुद्धिसागरको गीतको याद आयो । बेसहारा बाँच्नु परेका बृद्धबृद्धाहरुको याद आयो । त्यो भन्दा पनि  निराशलाग्दो बुढेसकाल बाँच्नु परेका बृद्धहरुको ठूलो पीडाहरु आँखा अगाडि नाँच्न थाले । अनि ९० वर्षको उमेरमा स्कुल पढ्न गएको डाँगीको मुहारमा देखिएको खुशी सम्झरे लाग्यो पीडाहरु भुलाउने माध्यम बृद्धबृद्धाहरुलाई स्कुल भर्ना हुने ठम्याइ मेरो रह्यो ।

देशको भविष्यका कर्णधार मात्र बाहिरिएका छैनन् बाबुआमाको भविष्य पनि सकसपूर्ण बनिरहेको छ । यसरी नै बाहिरिने क्रम बढ्दै जाने हो भने केही वर्षमै देशनै बृद्धाश्रम बन्ने त होइन भन्ने बहस र चिन्ता बढेको छ । भावि अवस्थाको चित्रण आँकलन गरिरहँदा पनि हामीले आफ्ना सन्तानहरुलाई देशमा रोक्न सकिरहेका छैनौँ ।

यहि महशुसका साथ मैले बृद्ध उमेरमा स्कुल पढ्न गएका ज्येष्ठ नागरिकहरु र उनीहरुको खुशीका समाचारहरु खोज्न थालें । स्कुल पढ्न पाउँदा उनीहरुबाट अभिव्यक्त खुशी खोज्ने क्रममा सकरात्मक सन्देशहरु नै पाएँ । त्यसले पनि थप अगाडि बढ्न झनै सहज बनायो ।

जन्मेपछि बच्चा र जवान हुँदै बुढो हुनुपर्ने प्राकृतिक नियम नै हो । तर हामी आफू पनि बुढो हुनुपर्दछ भन्ने ठान्दैनौँ । साहारा चाहिने बेलामा बेसाहरा बनाउँछौँ । शरीरले काम गर्न नसक्दा परिवारभित्र घाँडो जस्तो भएर बाँच्नु पर्ने अवस्था छ । अझ स्वार्थी परिवार पर्यो भने त बृद्धाश्रममा अलपत्र पार्ने कि त सडकमा बेवारिसे बनाएर छाडिदिन्छन् । घरमा सबै काममा ब्यस्त हुनुपर्दा आफूले राम्रो स्याहारसम्भार गर्न नपाएको अवस्थामा सल्लाहमा राम्रो ठाउँमा राख्नु नराम्र्रो भने होइन । बृद्धाश्रम नराम्रो होइन, कोही पनि बेवारिसे बन्न नपरोस् । प्राकृतिक न्यायको कुरा गर्दा बालककालमा हामीलाई जसरी आमाबुबाले स्याहार गर्नुभयो त्यस्तै स्याहार हामीले बुढेसकालमा आमाबुबालाई गर्नु पर्ने हो । तर हामी विभिन्न बाहना बनाएर बाबुआमा साथमा हुनुलाई बोझ र बाध्यता ठान्छौँ, उनीहरुको चित्त दुखाउने व्यवहार गर्दछौँ ।

समाजवादोन्मुख राज्य प्रणाली भनिए पनि सरकारले नै बृद्धबृद्धाको जिम्मा लिइदिने व्यवस्था हाम्रो देशमा छैन । बाबुआमाले कमाएको सम्पत्तिमा सन्तान लुछाचुँडी गर्दछौँ, तर बाबुआमा पाल्ने कुरामा आफू उम्कने कोशीस गर्दछौँ । बुढेसकाल दिनप्रतिदिन सकसपूर्ण बन्दै गैरहेको छ । अझ केही वर्ष पछिको समयको आँकलन गर्नुपर्दा कहाली लाग्दो देखिन्छ ।

रोजगारी र सुन्दर भविष्यको खोजीमा लाखौँ नेपाली युवायुवती विदेशमा  रहनु परेको छ । देशको भविष्यका कर्णधार मात्र बाहिरिएका छैनन् बाबुआमाको भविष्य पनि सकसपूर्ण बनिरहेको छ । यसरी नै बाहिरिने क्रम बढ्दै जाने हो भने केही वर्षमै देशनै बृद्धाश्रम बन्ने त होइन भन्ने बहस र चिन्ता बढेको छ । भावि अवस्थाको चित्रण आँकलन गरिरहँदा पनि हामीले आफ्ना सन्तानहरुलाई देशमा रोक्न सकिरहेका छैनौँ । बाबुआमाको लासले छोराछोरी कुर्नुपर्ने पिडादायी अवस्थाको चित्र हाम्रो सामुन्ने देखिन्छ । भोलिका दिनमा ती सन्तानको बुढेसकाल झन कति निराश हुने होला शायद अनुमान गर्न पनि गाह्रो छ । पैसा भए सबैथोक पाइन्छ भन्ने मान्यताले घर गर्न थालेको छ । यसकारण सन्तान साथमा भैदिओस् भन्ने चाहनाका बाबजुद् छोराछोरीको भविष्यका लागि विदेश पठाउन बाध्य छौँ ।

प्राय नेपालीको घर रित्तिएका छन्, अधिकांशका घरमा दुुई जना बुढाबुढी मात्रै छन् । कुनैबेला सानो लाग्ने घर अहिले भूत बंगाला जस्तो लाग्ने गरेका छन् । जवानी सकिएर चाउरिएको शरीर, दाँत झरेको, कपाल फुलेको, रोगले गाल्दै गएको शरीर, आफ्नै आँगन पनि पर हुने त्यो अवस्थामा साथमा सन्तान नहुँदा खाट छेउमा राखेको पानी पनि सारेर खान सकिँदैन ।

बुढेसकालले गलाउने भन्दा पनि चिन्तै चिन्ताले हाम्रो शरीर गलाउँछ । आफैले कमाएर राखेको सम्पत्ति छ । चाहिएको बेला छोराछोरीले पनि पठाएकै छन् तर के गर्नु जब सन्तानको माया र साथ छैन भने निरर्थक जीवन बिताउनु पर्दछ भने ।

बुढेशकालमा श्रीमानश्रीमती साथसाथ जीउन पाए त राम्रै हुन्थ्यो, तर त्यस्तो घटना बिरैल सुन्न पाइन्छ । बुढेशकालमाा एकल भएर बाँच्नु पर्यो भने त्यो भन्दा पीडादायी जीवन अरु हुन सक्दैन । हजुरआमाहरु त बरु सानातिना घरको काममा लाग्ने भएकाले केही सहज होला तर पुरुषको बुढेशकाल पीडादायी हुन्छ । त्यसैले जीवनसाथी भनेकै बुढेसकालका लागि रहेछ भन्ने भनाईहरु आजकल धेरै सुन्न पाइन्छ ।

हामीले हिजोको सुन्दर परिवार पनि देख्यौ र भोग्यौँ पनि । जहाँ परिवारका सबै सदस्य सँगै हुन्थे । बुद्धबृद्धाको सम्मान गरिन्थ्यो । घरको मान्य मान्छेले भनेको कुरालाई सबैले सहर्ष स्वीकार गर्दथे । नातिनातिना हजुरबुबा हजुरआमा भने पछि भुतुक्कै हुन्थे । राती सुत्ने बेला दन्त्य कथा नसुनी निन्द्रा लाग्दैनथ्यो । बाबुआमाले गाली गर्दा पनि शरण पाउने न्यानो ओत हुन्थ्यो हजुरबुबा हजुरआमाको काख । तर आज छोराछोरी नै सातसमुन्द्र पर गएपछि नातीनातिनासँग सँगै खेल्ने रम्ने खुशी खोसिएको छ । नातिनातिना जन्मिएका छन् रे भनेर खुशीहुँदै बाँच्नु पर्ने अवस्था बढ्दै गएको छ । नातिनातिना आएपनि हजुरबुबा हजुरआमाको भाषा मिल्दैन, सुम्सुमाएर काखमा लिन सक्दैनन, माया गर्न सक्दैनन् । साँच्चै आम नेपालीहरुको बुढेशकालको अवस्था सम्झँदा पनि कहाली लाग्दो बन्ने वाला छ ।

दार्चुला शैल्यशिखर नगरपालिकाका ६५ वर्षीय लालसिंह बिष्ट ४ वर्षकी नातिनी सँगै शिशु कक्षामा भर्ना भएका थिए । तस्विर दार्चुला खबर

सामुदायिक विद्यालयहरुमा शिक्षकशिक्षीका भन्दा विद्यार्थी कम रहेको, विद्यार्थी नहुँदा धेरै विद्यालयहरु गाभ्नु पर्ने अवस्था आइरहेको सन्दर्भमा मनमा तर्क आयो । ती विद्यालयहरुमा बृद्धबृद्धाहरुलाई पढाउने व्यवस्था सुरु गर्दा कसो होला ? परिवारहरुमा  बृद्ध बाबुआमालाई दिनभर एक्लै घर छाड्न गाह्रो पनि भैरहेको छ । यदि बुद्धबुद्धाहरुका लागि पनि स्कुल संचालन गर्न सक्यौं  भने  बुढेशकाल लाग्यो भनेर बेलैमा झोक्राएर बस्नु पर्ने, चिन्ताले रोग निम्त्याउनु पर्ने हुँदैन ।

यो चिन्ताबाट केही हदसम्म भएपनि कम गराउन सामुदायिक विद्यालयहरुमा विशेष गरी ज्येष्ठ नागरिकहरुलाई स्कुल भर्ना सुरु गरौं । उनीहरुलाई सानाबालबालिकाहरुसँग नजिक राखेर कुनै पाठ्यक्रम नराख्ने, साक्षर नभएकालाई सामान्य अक्षर चिनाउने, उनीहरुलाई रमाइलो गर्न दिने, नाच्ने, गाउँने, सिप सिक्ने सिकाउने खालका कार्यक्रम राख्न सक्यौँ भने यसले बृद्ध अवस्थामा हुने रोगहरुबाट बच्न धेरै हद्सम्म सहयोग नै पुग्दछ भन्ने लाग्दछ ।

भनिन्छ मानिस दुईपटक बालक बन्छ । एउटा मान्छे बुद्धा अवस्थामा फेरि बालक बन्छ । उनीहरुलाई बालबालिकाहरुसँगको सामिप्यता औषधि सरह हुन्छ । एकातर्फ साना बालबालिकासँग दिन काट्न पाउँदा बृद्धबृद्धा तथा बालबालिका दुवै खुशी हुन्छन् । अर्कोतर्फ बृद्धबृद्धाहरुले जीवनमा कमाएको अनुभव र ज्ञान बालबालिकामा स्थानान्तरण गर्न सकिन्छ ।

‘कुरा सुन्नु बुढाको’ सुन्नु पर्ने हो, कुरो उनीहरुको । तर हामी उहिलेका कुरा खुईलिए भन्दै उनीहरुको अनुभवले सिकाएको सिकाइलाई हावामा उडाइदिइ रहेका छौँ । बाबुआमाले भनेको कतिपय कुराहरु जब आफ्नो जीवनमा आइपर्दछ अनि बल्ल पछुताउँछौँ, किनकी त्यो बेला हामीले उहाँहरुलाई गुमाइसकेका हुन्छौँ । पढेर भन्दा परेर जानेको कुरा व्यवहारिक मात्र होइन, वैज्ञानिक पनि हुन्छ । तर हामीलाई बुढाबुढीको कुरा सुनेर बस्ने समय होइन, चाहनै हुँदैन । हामीलाई नयाँ प्रविधिले पुरानो पुस्ताले अपनाउँदै आएको सिपको कुनै आवश्यकता ठान्दैनौँ । पुरानो संस्कार र संस्कृतिलाई लोप हुन नदिन पनि पुस्तान्तरण जरुरी हुन्छ ।

उदाहरणमै हेर्नु पर्दा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ७ का ९२ वर्र्षीया गणेशमाया देउला नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको प्रेरणादायी समाचार पनि पढ्न पाईएको थियो । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला त्यहाँकी वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेकी छन् ।

तस्विर स्रोत रासस

आगामी दिनमा मानव जगतलाई सबैभन्दा ठूलो चुनौती भनेको खानेपानी र बृद्धबृद्धाको व्यवस्थापन हो भन्ने भनाईसँग म पूर्ण सहमत छु । मानिसहरु यति व्यस्त छ् की उनीहरु बालबच्चा जन्माउनुलाई पनि बाध्यता ठान्दै गएका छन् र त्यो बाध्यता नमान्नेहरु त अझ व्यक्तिगत जीवनलाई आफ्नो स्वतन्त्रता ठान्न् र अरु कुरालाई प्राथमिकता नै दिँदैनन् । रहरले एक सन्तान जन्माएपनि त्यसपछि अरु बच्चाहरु जन्माउन चाहँदैनन् । त्यो पुस्ताको बुढेशकाल कति निरश र दिक्क लाग्दो होला ।

मुख्य कुरा त जबसम्म हामी आफ्नो जीवनमा भोग्दैनौँ अरुले भनेको कुरा सब वाहियात ठान्ने गर्दछौँ । आफ्ना अभिभावकले दिने शिक्षालाई पुरानो विचार भनेर इन्कार गर्दछौँ, तर समयले जब त्यो अवस्थामा ल्याउँछ, अनि बल्ल हामी पछुताउँछौँ । बालबालिका र बृद्धबृद्धाबीच घुलमिल हुने अवस्था सिर्जना गर्न सक्यौ भने साँच्चै संसारमा खुशी हामी नेपाली बन्न सक्छौँ ।

यहाँ उठान गरिएको विषय ठट्टा खालको र सामान्य लाग्न सक्छ तर दिन त गयो, रात कसरी जान्छ, रात त गयो दिन कसरी काट्ने हो भन्ने चिन्तै चिन्ताले चिन्तित बन्नु पर्ने बुढेशकालमा डाँगीहरु जस्ताको कथाहरु सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । बृद्धबृद्धालाई स्कुल भर्ना गरेर बालबालिकासँग रमाउने अवसर दिउँ ।  राज्य समाजवादी भनिए पनि बृद्धबृद्धाको  सम्भावित विकरालता तर्फ ध्यान अहिले पु¥याएको देखिदैंन । ६५ काटेका ईच्छुकलाई राज्यको केयर सेन्टरमा बसाल्न नसकुन्जेल विद्यालय भर्ना गरेर उनीहरुको समयलाई सहज बनाउन प्रयास गरौं ।

 

 

वि.सं.२०८१ वैशाख २६ बुधवार १२:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

अचुतकुमार ओझा, काठमाडौँ । आज मे डे अर्थात् श्रमिकले दृढ...

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...