काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको भेट अन्तिम समय स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि तय भएको भेट अन्तिम समय स्थगित भएको हो ।
प्रचण्ड सचिवालयले प्रधानमन्त्री ओलीबाट व्यस्त भएको खबर आएको बताएको छ । ‘छलफल हुने कार्यक्रम थियो, प्रधानमन्त्री ज्यू व्यस्त भन्ने आयो’ प्रचण्ड सचिवालयले भन्यो, ‘भोली पर्सिमा फेरि छलफल होला ।’
पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले शनिबार दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । एक साता लामो गृहकार्यपश्चात बुझाइएको प्रतिवेदनमा पार्टी सञ्चालन र सरकार सञ्चालनमा देखिएका समग्र विवादलाई निकास खोज्ने सुझाव दिइएको छ ।
प्रतिवेदनमा ५ वर्ष नै ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिने र प्रचण्डले पूर्णं कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी लिने भन्ने सुझाव दिइएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा छलफल र सचिवालय बैठक बोलाउने बारे सोमबार भेट तय भएको हो । तर, अन्तिम समय भेट स्थगित भएसँगै विवाद फेरि देखिन सक्ने अनुमान गरिएको छ ।
वि.सं.२०७७ भदौ ८ सोमवार १४:५८ मा प्रकाशित




























