११ भदौ, काठमाडौं । हाल नेपालमा बंगालको खाडिबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।
आज देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
कुन- कुन नदीमा पानीको बहाव बढ्ने सम्भावना छ त ?
आज रुपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोटी, अछाम, बझाङ, बाजुरा,डडेलधुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भइ बहने स–साना नदीमा बहाब बढ्ने र केहि सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो हुने तर सतर्कता भन्दा तलै हुनेछ भने कान्द्रा, मोहना, खुट्टीया, घुराहा, पुतलीसेन, स्याउली, चौधर, रंघुन–पन्टुरा लगायत चमेलियाको सहायक नदी लगायत नदीजलाधारमा क्षणिक मध्ययम बर्षा भई उक्त नदी लगायत आसपासका स–साना नदीमा बहाव सतर्कता पुग्न सक्ने पूर्वानुमान छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार १०:१३ मा प्रकाशित





























