११ भदौ, बुटवल । बुटवलमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानमा संचालित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नं १ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना संक्रमणको पुष्टि भएपछि भदौ ५ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
उच्च रक्तचाप, मधुमेहलगायतका समस्या रहेका उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको पनि डा.थापाले जानकारी दिएका छन् । बुधबार १ जनाको मृत्यु भएसँगै बुटवलमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
वडा नं १ बाट नागरिकता लिएर २ नम्बर वडामा बसोबास गर्दै आएका उनी पहिलेदेखि मिर्गौला रोगको समस्या भएको र डाइलोसिस गर्ने क्रममा अस्पताल पुगेका थिए । त्यहाँ कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएपछि कोरोना विशेष अस्पताल पुर्याएको वडा नं १ का अध्यक्ष सुदिप पौडेलले संसारन्युजलाई जानकारी दिएका छन् ।
उनका अनुसार वडा नं १ मा अहिलेसम्म झण्डै ६० जना कोरोनाबाट संक्रमित भएको र उनीहरुमा हाल सक्रिय संक्रमित २० देखि २५ जना रहेको पनि उनले जानकारी दिए ।
वि.सं.२०७७ भदौ ११ बिहीवार ११:१२ मा प्रकाशित






























