११ भदौ, काठमाडौं । बुटवलमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बुधबार राति कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको मृत्यु भएको १२ घण्टा वित्न नपाउँदै बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत करिब ७० वर्षीया उमेरकी महिलाको मृत्यु भएको हो ।
अस्पतालद्धारा जारी विज्ञप्ति अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकी नगरकी ७० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएकी उनमा थप समस्या देखिएपछि साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप र थाइराइडको समेत समस्य रहेको बताइएको छ ।
प्लाज्मा थेरापिबाट उपचार गरिएपछि बुधबार स्वास्थ्यमा सुधार आएको उनको रातिदेखि स्वास्थ्यमा थप समस्या देखिएको थियो । बिहान अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा उनको मृत्यु भएको पनि अस्पतालले जनाएको छ ।
यसअघि बुधबार राति ११ बजेतिर कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका– १ का ५० वर्षीय पुरुषका पनि मृत्यु भएको थियो । यो सँगै बुटवलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो
वि.सं.२०७७ भदौ ११ बिहीवार १४:०० मा प्रकाशित






























