काठमाडौं । कोरोना भाइरसबाट महिलाभन्दा पुरुष किन बढि असुरक्षित ? भन्ने प्रश्न धेरै समयदेखि उठेको छ । यस प्रश्नमा लामो समयदेखि नै वैज्ञानिकले जवाफ पनि खोजीरहेका छन् । जसबारे वैज्ञानिकले केहि तथ्य भेटाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले वैज्ञानिकहरुको पछिल्लो खोजलाई सार्वजनिक गरि पुरुष र महिलाबीच हुने अन्तरलाई स्पष्ट पारेका छन् ।
महामारीको सुरुवातदेखि नै महिलाको तुलनामा पुरुष बढि जोखिममा देखिएका छन् । अहिलेसम्म जति पनि कोरोनाको कारण मृत्यु भएको छ त्यसमा सबैभन्दा बढि पुरुष नै देखिएका छन् । यसको पछाडि धेरै तर्कहरु गरिएको पाइन्छ । यसबीच वैज्ञानिकले यसको कारण पत्ता लगाएका छन् ।
महिलामा भेटियो अनौठो गुण
‘नेचर’ जर्नलमा प्रकाशित एक खोज प्रतिवेदनमा कोरोनाबाट भएको मृत्युमा ६० प्रतिशत पुरुष रहेको उल्लेख छ । अध्ययनका मुख्य लेखक येल विश्वविद्यालयका प्रोफेसर अकीको इवासाकीले पुरुषको तुलनामा महिलामा धेरै प्रकारका रोग प्रतिरोधात्मक क्षमता हुने र समस्या पर्दा तत्कालै विकास हुने अनौठो गुण भेटिएको बताएका छन् ।
अध्ययनमा महिलामा टी लिम्फोसाइट (एक प्रकारको सेतो रक्त कोशिका)सहित थुप्रै खालका प्रतिरोधात्मक क्षमता दिने तत्वहरु भेटिएको थियो । जसले कोरोना भाइरसलाई पहिचान गरि समाप्त गर्न सक्दथ्यो ।
बृद्ध उमेरका महिलामा पनि टी लिम्फोसाइटलगायतका अन्य तत्वहरु रहेको पाइयो । जसबाट पुरुषको तुलनामा महिला धेरै सुरक्षित रहेको भेटियो ।
पुरुषमा प्रतिरक्षा प्रणालीलाई जरुरतभन्दा बढि रुपमा काम गराउने तत्व
महिलामा प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने तत्व भेटिँदा जसको विपरित पुरुषमा अधिक साइटोकिन्स तत्व (एक प्रकारको इन्फ्लेमेटिरी प्रोटिन) भेटिएको कुरा वैज्ञानिकले बताएका छन् ।
वैज्ञानिकका अनुसार जसले समस्याको बेलामा प्रतिरक्षा प्रणालीलाई जरुरतभन्दा बढि रुपमा काम गराउने र गम्भीर अवस्थामा पनि पुर्याउने गर्दछ । अध्ययनमा जुन महिलाको मृत्यु भएको थियो उनीहरुमा पनि सामान्य पुरुषमा जस्तै साइटोकिन्सको मात्रा भेटिएको थियो ।
अलग–अलग रुपमा उपचार गर्न वैज्ञानिकको सुझाव
शोधकर्ताहरुले महिला र पुरुषको शरिरमा हुने फरक–फरक रोग प्रतिरोधात्मक क्षमतालाई ध्यानमा राख्दै उपचार पद्धति पनि फरक–फरक गराउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले भ्याक्सिनको प्रयोग पनि त्यहि रुपमा गर्दा मात्रै प्रतिफल दिने बताए ।
शोधकर्ताले ९८ व्यक्तिमा अध्ययन गरेका थिए । जसमा सहभागी व्यक्ति औसत साठी वर्षका थिए । जसमा पुरुष र महिला दुवैलाई समान रुपमा लिइएको थियो । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ भदौ ११ बिहीवार १४:०५ मा प्रकाशित






























