२ असोज, काठमाडौँ । साझा पार्टीले डा गोविन्द केसीलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ ।
देशका विभिन्न ठाउँबाट डा केसीको अन्सनस्थलमा जुम्ला पुगेको पुगेको साझा पार्टीको बिशेष टोलीले जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सकहरूले सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने भनि दिएको सुझावका आधारमा यस्तो माग गरिएको उल्लेख छ ।
चिकित्सकहरूले यसअघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको बताएको र उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नु पर्ने सुझाव रहेको विज्ञप्तिमा जनाइएको छ ।
डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने र त्यसको मूल्य सरकारका लागि भारी हुने विज्ञप्तिमा उल्लेख छ।
डा केसी स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा सत्याग्रह बसेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
डा केसीलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर।
स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै डा. गोबिन्द केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको बिशेष टोली अहिले सत्याग्रह स्थलमा छ।
यसअघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नु पर्ने चिकित्सकहरूको सुझाव छ।
तसर्थ, डा केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाका बारे हामी सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ।
डा केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो। तर विडम्वनाको कुरा, सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ।
यस्तो अवस्थामा डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने छ र त्यसको मूल्य सरकारका लागि भारी हुनेछ।
साझा पार्टी बिशेष टोली
जुम्ला
मिति: ०२ असोज २०७७
वि.सं.२०७७ असोज २ शुक्रवार २१:०५ मा प्रकाशित