४ असोज, काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नैपालले आन्दोलनका लागि तयार रहन भन्दै सम्पूर्ण नेपाली जनतासँग आह्वान् गरेको छ ।
मोर्चाका अध्यक्ष सी.पी.गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले गरेका कामहरु अति खपिनसक्नु हुँदै गएको भन्दै अब अर्को जनआन्दोलनमा उत्रनु शिवाय अर्को कुनै विकल्प नभएको उल्लेख गरिएको छ ।
उपचार नपाएको, खान नपाएर भोर्क मर्नु पर्नै अवस्था आएको, जनता आफ्ना माग राखेर सडकमा उत्रँदा उल्टो ज्यादती गरेको भन्दै सरकारले अति नै गरेको मोर्चाले जनाएको छ ।
सरकारलाई जानकारी गराउने, सचेत गराउने, दवाब दिने सबै काम गरिसकेको उल्लेख गर्दै मौर्चालै ‘संसदमा भएको कथित दुई तिहाईको दम्भ प्रदर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन । यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन ।’ भनैको छ ।
‘इतिहासका निर्माता नेपाली जनता सँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं । अहिले जे भैरहेको भए पनि, अन्त्यमा जित नेपाली जनताको नै हुनेछ’ भन्ने विश्वास समेत विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :
आन्दोलनका लागि तयार रहन आह्वान् !
देश यतिखेर विकराल संकटको अवस्थाबाट गुज्रिरहेको छ । विदेशी शक्ति केन्द्रहरु, दलाल पुँजीपति र विचौलियाको निर्देशनमा संचालित यो सरकारको पालामा ‘मर्न आँटें उपचार पाउँ !’ भन्दा भन्दै सुत्केरी र कोभिड–१९ का विमारीहरुको ज्यान गएका, ‘सास जान आँट्यो केही त खान पाउँ !’ भन्दै विपन्न वर्गका मानिसहरुले प्राण त्याग्नु परेका घटनाले सञ्चार माध्यमहरु रंगिएका छन् । भोको पेट लिएर स्वयम्सेवी संस्थाहरुद्वारा वितरण गरिएको खाना खान खुला मञ्चमा आएका भोका जनतालाई नजिकै धुमधाम साथ मनाइएको संविधान दिवसमा डिस्टर्ब हुन्छ भनेर प्रहरीले लखेटेको दृश्य देख्दा कसको मन नरोला ? सामान्य मागहरुलाई लिएर सडकमा उभिएका जनता माथि प्रहरीले बजारेको लाठीको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने कुराको सर्वत्र चर्चा चलेको छ । विश्वका झण्डै २०० भन्दा बढी देशमा महामारीका रुपमा फैलिएको महाव्याधी कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, विरामी आफैंले गर्नु पर्ने भन्ने निर्लज्ज र चरम गैर जिम्मेवार फरमान् जारी गर्दैछ, यो सरकार । संसदमा पारित हुनबाट जोगिएको एम्.सी.सी. सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसदको आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिँदैछ । जनसंघर्षको दवाबबाट नेपालको नक्शा सार्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक माथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ , तर सरकार तमासे बनेर हेरिरहेको छ । कालापानीमा भारतीय सेना परेड खेलिनैरहेका छन् । साठी लाख भन्दा बढी युवाहरु बेरोजगार हुने अनुमान गरिँदै छ । तर रोजगारीको कुनै ठोस योजना छैन । राज्यको ढुकुटी भ्रष्टाचार र कमिशनबाट रित्तिने अवस्था तिर गैरहेको छ ।
समग्रमा, यो सरकारले गरेको अति अब खपिनसक्नु हँुदै छ । हामीले सरकारलाई जानकारी गराउने, सचेत गराउने, दवाब दिने सबै काम गरिसकेका छौं । संसदमा भएको कथित दुई तिहाईको दम्भ प्रदर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन । यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन । त्यसैले, इतिहासका निर्माता नेपाली जनता सँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं । अहिले जे भैरहेको भए पनि, अन्त्यमा जित नेपाली जनताको नै हुनेछ ।
सी.पी.गजुरेल
अध्यक्ष
वि.सं.२०७७ असोज ४ आइतवार १२:१६ मा प्रकाशित






























