काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठनको विषयमा नीतिगत निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै उनले भने, ‘मन्त्रिपरिषदको पुनर्गठन स्थायी समितिको निर्णयअनुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा आजको सचिवालयले नीतिगत सुझाब दिएको छ । व्यक्तिको नामका सन्दर्भमा भने प्रवेश गरेका छैनौं ।’
त्यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्ती गर्न आधार तय गर्न कार्यसूची तय गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकीकरणका बाँकी कामका विषयमा पनि बैठकले कार्यसूची तय गरेको छ ।
साथै संगठन विभागका निर्णयहरुका सन्र्दभमा छलफल र अनुगमनसम्बन्धी प्रस्ताव, स्थायी र केन्द्रीय समितिमा रिक्त सदस्यहरुको पदपुर्ती र केही कारबाहीका विषयमा पनि छलफल भएको उनले जनाए ।
आजको बैठकमा पार्टीका पूर्णंकालिन कार्यकर्तालाई आर्थिक सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठक सोमबार पुनः बस्ने उनले जानकारी दिए ।
नेकपाको सचिवालय बैठक पार्टी एकतापछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । बैठक यसअघि प्रधानमन्त्री निवास बालुवाटार र पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरेको थियो ।
वि.सं.२०७७ असोज ४ आइतवार १५:४४ मा प्रकाशित



























